१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उत्तर कोरियासँग ६० वटा आणविक हतियार



एजेन्सी । 

दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन । उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले यस्तो जानकारी दिएका हुन ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताए । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियार विहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।

उत्तर कोरियासँग के कति आणविक हातहतियार छ भन्ने दक्षिण कोरियाको पछिल्लो अनुमान विगतमा गरिएको अध्ययनकै सेरोफेरोमा आएको बताइन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०७५ बुधबार ००:००  २ : ५० बजे