१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ओली आज स्वदेश फिर्ता हुँदै



चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।

१३ दिन मुलुकबाहिर रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ ।नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई ओलीसहितको टोली दिउँसो तीन बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । उहाँ त्रिभुवन विमानस्थलमा अवतरण भए लगत्तै विमानस्थलको अति विशिष्ट कक्षमा संचारकर्मीसंग केही कुरा राख्नु हुने छ ।

उहाँ अमेरिका भएको बेला मुलुक भने दिशाहिन भएको भन्दै पार्टीभित्रैबट उहाँको चर्को आलोचना भएको छ । आज पत्रकार सम्मेलनमा आफ्नो अमेरिका र कोष्टारिका भ्रमणको बारेमा आफ्नो कुरा राख्नु हुने छ । उहाँ असोज ६ गते अमेरिका प्रस्थान गर्नु भएको थियो ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो ।

कोष्टारिकापछि कम्बोडिया जाने कार्यक्रम रहे पनि मुलुकमा सिर्जना भएका समस्या र आलोचनापछि उहाँ भ्रमण छोट्याएर स्वदेशफर्कन लाग्नु भएको हो ।

अमेरिका रहेको बेला ओलीले न्यूयोर्कमा राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो । यस्तै सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग द्विपक्षीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले सान होजेमै शान्ति विश्वविद्यालयबाट प्रदान गरिएको मानार्थ विद्यावारिधिको उपाधि पनि ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७५ बिहिबार ००:००  २ : ४४ बजे