अर्घाखाँची ।
अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । जिल्ला अस्पताल अर्घाखाँचीमा केही दिनयता बिरामीको संख्या ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार दैनिक १ सय ५० भन्दा बढी भाइरलका विरामी उपचारका लागि आउने गरेका छन् । १५ शय्याको अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार गरीरहेको छ ।
बेडमा बिरामी राख्ने ठाउँ नभएपछि अस्पतालभित्र बाटो, भुइँ जहाँ खाली हुन्छ त्यही राखेर उपचार गर्नु परेको जिल्ला अस्पतालका प्रमुख निर्देशक जगतनाथ तिवारीले बताउनुभयो । उहाका अनुसार बिरामीको संख्या बढेपछि व्यवस्थापन गर्न हम्मे परेको छ ।
अस्पतालको आकस्मिक देखि जनरल बेड सबै भाइरलका बिरामीले भरिएको छ । वर्षा मौसम हुनु, प्रदूषित पानी पिउनु, मौसम परिवर्तन, बाढीको फोहर, दुर्गन्ध आदि कारणले भाइरलको प्रकोप फैलिएको जिल्ला अस्पताल अर्घाखाँचीले जनाएको छ ।
अर्घाखाँची जिल्ला अस्पताललाई ५० शय्यासहित सुविधा सम्पन्न बनाउने नारा केवल नारामै सिमित भएको छ । अधिकांश जनप्रतिनिधिले चुनावका बेला यही नारा लगाएका थिए । आधादर्जन नेता पटक–पटक मन्त्रि पनि बने । तर अस्पतालको भौतिक संरचना जस्ताको तस्तै छ । बेड अभावमा बिरामीलाई भुइमै राखेर उपचार गराउन पर्ने बाध्यता हटेको छैन ।
गुल्मी, प्युठान, कपिलबस्तु, नबलपरासीजस्ता छिमेकी जिल्लामा ५० शय्याको अस्पताल निर्माण हुँदा अर्घाखाँचीमा भने नेतृत्व तहबाट सहयोग नहुँदा मन्त्रालयमा फाइल रोकिएको छ ।
२० आश्विन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया