१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुल्मीमा बढे सम्बन्ध विच्छेद गर्ने पुरुष



गुल्मी ।
भदौ १ देखि नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएपछि गुल्मीमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको संख्या बढेको छ । जिल्ला अदालत गुल्मीको पछिल्लो तथ्यांकअनुसार सम्बन्धविच्छेदको माग गर्ने पुरुषहरुको संख्या धेरै छ ।
भदौ १ यता दर्ता भएको ३९ सम्बन्धविच्छेदका मुद्दामध्ये २१ वटा पुरुषले र १८ वटा महिलाले दर्ता गरेका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले बताउनुभयो । महिलाहरुले खान लाउन नदिएको, गाली गलौज र कुटपिट गरेको, पारिवारिक संरक्षण नभएको भन्दै सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् ।
पुरुषले भने श्रीमतीले घर व्यवहार चलाउन नसकेको, पैसा हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको र अनावश्यक मानसिक तनाव दिएको कारण देखाउँदै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताउनुभयो ।
अहिलेसम्म सम्बन्ध बिच्छेदका लागि महिला सोझै अदालत जान सक्ने व्यवस्था भए पनि पुरुष भने अदालत गएर मुद्दा दर्ता गर्ने कानुनी व्यवस्था थिएन । गत भदौबाट लागू भएको नयाँ मुलुकी संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सोझै अदालत जाने बाटो खुला भएपछि पुरुषहरुको संख्या बढेको श्रेस्तेदार बस्यालले बताउनुभयो ।
जिल्ला अदालत गुल्मीले पछिल्लो तीन महिनामा लक्ष्य भन्दा बढी मुद्दाहरु फछ्र्यौट गरेको छ । पछिल्लो तीन महिनामा ९६ वटा मुद्दाहरु जिल्ला अदालतमा आएको श्रेस्तेदार बस्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० आश्विन २०७५ शनिबार ००:००  १ : ०२ बजे