१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गुञ्जिन छाडे मालश्री धून



दाङ ।
मालश्रीको धूनसँगै दशैँमा बिहानै घरमा दुर्गा जगाउँदै गाउँदा दशैँ आएको सङ्केत गर्छ । तर, अचेल भने यस क्षेत्रमा मालश्रीका धून सुनिन छाडेका छन् । केही वर्ष पहिलेसम्म दशैँमा घरघरमा सारङ्गी बाजासहित दुर्गा जगाउन आउने गन्धर्व समुदाय हाल भने देखिन छाडेका छन् ।
पहिले प्रत्येक घरघरमा गन्र्धव समुदायका व्यक्ति दुर्गामा मालश्रीको धूनसँगै गाउन आएपनि अचेल एक दुई स्थानमा मात्र सो धुन बज्ने गरेको छ । ‘पहिलेपहिले बिहानै दुर्गा जगाउन भन्दै गन्धर्व समुदायका व्यक्ति घरघरमा आउने गर्दथे, हाल भने सो धुन लोप हुने अवस्थामा छ’, दाङ तुलसीपुर–७ का स्थानीय समाजसेवी कृष्णकुमार गिरीले बताए । तुलसीपुर–७ का विमल गौतमले एक जना गन्धर्व भएपनि आफ्नो घरमा आउँदा पुरानै संस्कृतिको जगेर्ना भएकामा खुशी व्यक्त गरे ।
हाल एकरदुई बाहेक अन्य गन्धर्वले सो पेशा छाडेका छन् । युवा पुस्ताले चासो नदिँदा तथा राज्यले आफूहरुको पेशा संरक्षणका लागि चासो नदिँदा मालश्री तथा अन्य समयमा सारङ्गी बाजा बज्न छोडेको तुलसीपुर–४ निवासी शालिकराम गन्धर्वको भनाइ छ । ‘राज्यले यसतर्फ कुनै चासो दिएन, हाम्रो छोराछोरीले पनि पेशा अँगालेनन,’ उनले भने ।

कहीँकतै एकरदुई जना गन्धर्वले पुख्र्यौली पेशा अँगाले पनि नयाँ पुस्ताले निरन्तरता दिन नसकेकोले पेशा सङ्कटमा परेको बताइएको छ । कसैले आग्रह गरेमा केही घरमा आफू दुर्गा गाउन जाने गरेको र एक्लैले नभ्याउने उनको भनाइ छ । ‘हामी जस्तै दुईरचार जना पुराना व्यक्तिले संस्कृति जर्गेना गर्ने प्रयास गरेका छौँ,’ घटस्थापनादेखि दुईरचार घरमा दुर्गा जगाउँदै आएका छौँ,’ प्रेम गन्धर्वले भने ।

दाङको तुलसीपुर–४ मा करीब ६० घर गन्धर्व परिवारको बसोबास भए पनि थोरैले मात्र सारङ्गीवादन जानेका छन् । आफूहरुलाई राज्यले सहयोग नगर्दा सारङ्गी बाजा लोप हुने अवस्थामा पुगेको अर्जुन गन्धर्वले बताए । उनले स्थानीय निकाय तथा सम्बन्धित संस्थाले आफूहरुको पेशा संरक्षण र जीविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउनसमेत माग गरे । (रासस)

प्रकाशित मिति : २७ आश्विन २०७५ शनिबार ००:००  १ : १८ बजे