६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

पहेंलो जलपलाई सुन भनेर बेच्ने दुईजना पक्राउ, ती मध्ये एक जना कपिलवस्तुबासी



बुटवल । 

नक्कली वस्तुलाई सुन भन्दै बेचेको आरोपमा थप दुईजना पक्राउ परेका छन् । देवदह नगरपालिका ६ बस्ने सुरेन्द्र दर्जी र कपिलवस्तु नगरपालिका ३ बस्ने गलेश्वर बेल्बासेलाई पाँच लाख ४० हजार नगद सहित इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पहेंलो जलपलाई सुन भनेर ठगी गरेको रकम मध्ये केही खाल्डो खनेर लुकाइ राखेको अवस्थामा बरामद गरेको हो ।

सोही ठगीको घटनामा यसअघि देहदह नगरपालिका १० का राजु परियार र नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ६ का अब्दुल पखिया पक्राउ परेका थिए ।

परियार र पखियामाथि अनुसन्धान गर्दा उनीहरुले दिएको सूचनाका आधारमा दर्जी र बेलबासे पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी डिलबहादुर मल्लले बताउनुभयो ।

उनीहरुले रुकुम त्रिवेणी गाउपालिका ६ घर भइ दाङ तुलसीपुर बस्ने २३ वर्षीय नरहरी घर्तीलाई बुटवल फूलबारी नजिकै असोज २२ गते सांझपख भेटेर पहेंलो जलप लगाइएको धातुको ढिक्कालाई सुन भनेर झुक्क्याइ २१ लाख २५ हजारमा बेचेर भागेका थिए ।

उक्त वस्तु सुन नभएको थाहा भएपछि घर्तीले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । यसअघि प्रहरीले परियार र पखियाबाट २१ लाख २५ हजार मध्ये १२ लाख रुपैयाँ नगद, नक्कली सुनको ढिक्का एक थान र २ थान मोबाइल बरामद गरेको थियो ।

फेसबुकमार्फत चिनजान गरेर परियारलाई घर्तीलाई ठगेका थिए । ठगी भएको मध्ये अझै ३ लाख ८५ हजार रुपैयाँ फेला नपरेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७५ आइतबार ००:००  ३ : १२ बजे