६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

गुल्मी, प्यूठान र नवलपरासीमा भएका छुटुटाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु



मायादेवी अनलाइन ।

गुल्मी, प्यूठान र नवलपरासीमा भएका छुटुटाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

बाग्लुङबाट गुल्मीको शान्तिपुर आउँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

लु १ ज २१८१ नम्बर को जिप दुर्घटना हुँदा गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वखर्कका ३२ वर्षीय भरत गुरुङ र ३५ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी उपरीक्षक दिपक बस्नेतले जानकारी दिनुभयो ।

उता प्यूठानको नौबहिनी गाउँपालिका–६ मगरबासाको भीरमा अटोरिक्सा दुर्घटना भएको छ । गएराति करिब साढे १० बजे भएको दुर्घटनामा परी एक जनाको ज्यान मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन ।

दुर्घटनामा परी नौवहिनी गाउँपालिका–४ खवाङकी ५९ वर्षीया तारादेवी पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा अटोरिक्सा चालक नौबहिनी–४ का  लालबहादुर गिरी, उनकी श्रीमती सृजना गिरी र उनका चार वर्षीय छोरा सुजल गिरि र एक वर्षीय छोरा सौगात गिरी र खवाङकी कालीदेवि घर्तीमगर घाइते भएका छन् ।

घाइते मध्ये कालीदेवीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय बाहानेका प्रमुख गोपीकृष्ण सुवेदीले जानकारी दिनुभयो । घाइतेहरुलाई उपचारका लागि बिजुवार पठाइएको छ। ट्याम्पु बाटोबाट खोलामा खसेको छ ।

यस्तैै प्यूठान जिल्लामै करेन्ट लागेर आज एक महिलाको ज्यान गएको छ । जिल्लाको ऐराबति गाउँपालिका ४ धुबाङमा करेण्ट लागेर स्थानीय २६ वर्षीय  सुमा भण्डारीको मृत्यु भएको हो । भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो । अहिले मृतकको सब पोस्टमार्टमको लागि बिजुवार अस्पतालमा राखिएको छ ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षीय धनबहादुर मगर गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०७५ सोमबार ००:००  १ : ३० बजे