५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

गुल्मीमा धुमधामका साथ फुलपाती भित्राइयो (फोटो फिचर)



शिवलाल सुवेदी, गुल्मी ।
दशैंको सातौं दिन आज गुल्मीमा रहेका विभिन्न देवी देवताका शक्तिपीठहरुमा फुलपाती भित्राइएको छ । नेपालीहरुको महाचाड बडादशै सुरुसगै आज महासप्तमीको दिन पारेर प्रत्येक बर्ष झै यस बर्षपनि गुल्मीमा फु्लपाती धुमधामका साथ भित्राइएको हो ।

गुल्मीको सदरमुकाम तम्घासमा रहेको धागुधुम मन्दिर, नेपाली सेना,नेपालप्रहरी,शसस्त्र प्रहरी, चोयगाँको छत्रकोट,इस्माकोट,चन्द्रकोट,अर्जे मन्दिर, पुर्कोट अर्खवाङ्ग, उनायचौर मन्दिर, जोगिथुम मन्दिर अर्जुन डाडाँ मन्दिर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपिठहरुमा , धुमधामका साथ फुलपाती भित्राइएको छ । सदरमुकाम तम्घास स्थित धागिथुम दुर्गा मन्दिर समिति र नेपाल प्रहरी ,नेपाली सेना र शसस्त्र प्रहरी वल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी दिपक कुमार वस्नेत, गुरगोरख गुल्मका गुल्मपति जनमत कार्की, शसस्त्र प्रहरी वल गुल्म गुल्मीका प्रमुख दिनेश रायमाझी र मन्दिर समितीका अध्यक्ष शेर वहादुर थापाले माता दुर्गा भवानीको पूजा आर्चना गरेका थिए ।

सोही अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुक्त रुपमा दुर्गा मातालाई सलामी समेत अर्पण गरेका थिए । धार्मिक परम्परा अनुसार पुजापाठ, जमरा, होम, बलि तथा बडाइ दिएका थिए भने नेपाली सेना र सशस्त्र प्रहरीले बन्दुक पडकाएर सलामी दिएको मन्दिर समितिका अध्यक्ष शेर बहादुर थापाले जानकारी दिए । फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका पातहरूलाई पुजेर प्रत्येकको नौ वटाका दरले दुर्गापूजा गरेको स्थानमा भित्राइन्छ । नौ प्रजातीका पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आव्हान गरेर सोह्र सामग्रीले पुजिन्छ । यसलाई नवपत्रिका पनि भनिन्छ ।

शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए । घटस्थापना देखि दशैं शुरु भएपनि आज साँझ फुलपाती भित्राएपछि दशैंको थप रौनर आउने गर्दछ । आज देखि घरटाढा हुने हरु दशैंमा मान्यजनको हातबाट टिका ग्रहण गर्ने आउने क्रम पनि बढेको छ । गाउँ गाउँमा रहको शक्तिपीठ र राममन्दिरहरुमा आज पुजाआजा सहित फुलपाती भित्राएकाले गाउँ घरमा रमाईलो भएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाका ब्यारेकहरुमा समेत दशैंले ढाकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७५ मंगलबार ००:००  ७ : १६ बजे