४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बृद्धाश्रमका बृद्धबृद्धाको दशै, ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ !



बुटवल ।
यतिबेला जताततै बडादशैँको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई भने बडादशैँ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।
सबैतिर बडादशैँको रौनक छाउँदा यो आश्रममा बस्ने वृद्धवृद्धालाई दशैँले छोएकै छैन । आफ्नै सन्तान र आफन्तका कारण आश्रममा जीवन व्यतित गर्न बाध्य उनीहरु दशैँमा पनि खिन्न मन बनाएर बसेका छन् । “चाडबाड आएर के गर्नु आफ्ना परिवारसँग चाड मनाउन नपाएपछि हामीलाई दशैँ आएर के पो भयो र ?”, ८७ वर्षीय पहलेरोका क्षेत्रीले दुःखेसो पोख्नुभयो ।
रोल्पा वेदधाराबाट दुई वर्षअघि वृद्धाश्रममा आइबसेका क्षेत्रीलाई परिवारको खुशी कहिल्यै मिलेन । सम्पत्तिका कारण आफ्नै एक मात्र छोराले मुद्दा मामिला गरी घर निकाला गरेपछि वृद्धाश्रमको सहारामा बाँच्नुभएका क्षेत्री खान र बस्न पाउनुलाई नै खुशी ठान्नुभएको छ ।
विगत १० वर्षदेखि वृद्धाश्रम मै जीवनयापन गर्नुभएका रामेछापका रामबहादुर श्रेष्ठको मन पनि चाड आउँदा खिन्न हुन्छ । उमेरले ७३ वर्ष पार गर्नुभएका श्रेष्ठका एक छोरी हुनुहुन्छ । उमेरमै जीवन साथी गुमाएका श्रेष्ठलाई परिवारको कुरा गर्दा भक्कानो छुट्छ । आश्रममा बस्नेलाई के को चाड, दिए खाने हो आँसु झार्दै श्रेष्ठ भन्नुहुन्छ, “परिवार सँग मिलेर चाड मनाउन त भाग्यमै रहेनछ ।”
आश्रममा बस्ने सबैजनालाई परिवारकै सदस्यले यहाँ छोडेर गएका हुन । कति गएदेखि फर्केर पनि आउँदैनन् । बुटवलका समाजसेवी स्वर्गीय गणेशमान सैँजुले आफ्नो दिदीको स्मृतिमा २०६१ सालमा यो आश्रम स्थापना गर्नुभएको थियो ।
आठ जना वृद्धवृद्धा रहेको यो आश्रममा सबैजना ७० वर्षमाथिका छन् । वृद्धाश्रमका लागि सैँजु परिवारले १५ लाखको अक्षयकोष स्थापना गरेको छ ।
त्यसबाट आउने ब्याजले आश्रमको खर्च धानिएको आश्रमका सञ्चालक अनुपमान सैँजुले जानकारी दिनुभयो । त्यस बाहेक विभिन्न सङ्घ संस्थाहरुले आश्रमका लागि सहयोग दिने गरेका कारण सञ्चालनका लागि सहज भएको बताउनुभयो । (रासस)

प्रकाशित मिति : १ कार्तिक २०७५ बिहिबार ००:००  १ : १८ बजे