२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

कृष्णनगरबासी भन्छन्, ‘सामान्य विवाद माथि ठूलै घुसपैठ भयो’



मायादेवी अनलाइन, कृष्णनगर ।

भारतीय सिमावर्ती कृष्णनगर बजार क्षेत्र अहिले पूर्ण शान्त छ । बजार क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगाएको कर्फयु पनि पूर्ण रुपले हटाएको छ । विगत तीन दिन देखि लगाइएको कर्फयु पूर्ण रुपले हटे संगै कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । कर्फयु हटे लगत्तै मंगलबार दिउँसो देखि यातायात, बजार पूर्ण रुपमा सञ्चालनमा आए भने भारत हुदै नेपाल आउने सवारी साधन पनि निर्वाध रुपमा भित्रिएका छन ।

आइतबार साँझ देखि लगाइएकोे कर्फयु सोमबार दिनभर हटाइए पनि सोमबार राती देखि मंगलबार विहान ६ बजे सम्मका लागि कर्फयु पुन जारी गरिएको थियो । यद्यपि मंगलबार विहान ६ बजे देखि १२ बजे सम्मका लागि हटाइएको कर्फयुलाई १२ बजे पछि पूर्ण रुपमा हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

कृष्णनगरको अवस्था सामान्य भएपछि कर्फयुलाई पूर्ण रुपमा हटाइएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताउनुभयो । दिउँसो जिल्ला सुरक्षा समितिको वैठकले कृष्णनगर बजार शान्त हुदै गएको र त्यहाको जनजीवन सहज बनेकोले कर्फुयु हटाएको उहाँले मायादेवी अनलाइनलाई बताउँनुभयो ।

भारतीय सिमा क्षेत्रको बजार कृष्णनगर क्षेत्रमा शान्ति सुव्यवस्था कायम गर्न भन्दै गत ४ गते साँझ ५ बजेदेखि कर्फयु लगाइएको हो । कृष्णनगर बजार क्षेत्रमा बडा दशैको भोलीपल्ट दुर्गा पुजा मूर्ति विसर्जन गर्ने कार्यमा स्थानीय समुदायबीच भएको विवाद समाधान नभएपछि कृष्णनगर क्षेत्रमा कर्फयु लगाउन परेको थियो ।

कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तर तर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरीक्षेत्र, पूर्व सेमरा गाँउ र पश्चिम सिर्सिहवा चोकसम्म प्रशासनले कर्फयु लगाएको थियो ।

यता मूर्ती विसर्जनका क्रममा भएको घटनाले कृष्णनगर अशान्त जस्तो बने पछि कृष्णनगरबासी चिन्तित बनेका छन । सामान्य विवादले ठूलो रुप लिन खोजेपछि बजारबासीले विभिन्न सहमतीका प्रयास गरेका थिए । भारतीय सिमा संग जोडिएको स्थान भएकोले घटनालाई अतिरञ्जित पारेर घुसपौठ गर्ने प्रयास भएपनि त्यो प्रयास सफल हुन नसकेको कृष्णनगरबासीको दाबी छ ।

सदियौ देखि बस्दै आएका सबै समुदाय बीच विगतको जस्तै आपसी समझदारी, सहयोग र भावनात्मक सम्बन्ध कायम राख्नुनपर्नेमा कृष्णनगरबासी कृष्ण कुमार गुुप्ताको जोड छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५ बुधबार ००:००  २ : ०० बजे