२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

आम्दानीलाई कृषिमा लगानी गरे आर्थिक स्तर वृद्धि : मुख्यमन्त्री



रुपन्देही ।

प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले व्यापार व्यावसायबाट आएको आम्दानीलाई कृषि क्षेत्रमा लगानी गर्न सके समाजको आर्थिक स्तर सुदृढ हुने बताउनुभएको छ । तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको हिजो उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

कृषि नै समृद्धिको आधार भएको भन्दै मुख्यमन्त्री पोख्रेलले कृषिमा प्रशस्त लगानी बढाउन आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मेला महोत्सवले कृषि क्षेत्रको आधुनिकीकरण गर्नका लागि आफ्नो सहयोग र पहल निरन्तर रहने बताउनुभयो । प्रदेश सभा सदस्य फकरुद्दिन खाँले स्थानीय व्यापार मेलाहरुलाई अवसरका रुपमा लिएर यसबाट हुने फाइदा सबै वर्गले लिन सक्ने बताउनुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले मेला महोत्सवका लागि नगरबाट हुन सक्ने सहयोग प्रदान गर्दै यसलाई प्राथमिकतामा राखेको बताउनुभयो । मेला महोत्सवहरुमा स्थानीय मौलिक र पौरख देखाउने खालका स्टलहरुको समावेश गरेर मात्र मेला सञ्चालन गर्ने सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले बताउनुभयो ।

कार्यक्रममा नेकपा जिल्ला प्रतिनिधि निर्मल जि.सी., तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र कडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, समाजसेवी फणिन्द्र प्रसाद शर्मा लगायतले बोल्दै मेला महोत्सवले कृषकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

महोत्सवका संयोजक जीवनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक कुमार चालिसेको स्वागत तथा महासचिव देवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यावसायीक हितसँगै सामाजिक एकता“ भन्ने मूल नाराका साथमा सुरु भएको महोत्सव कार्तिक १८ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।

महोत्सवमा स्थानिय उत्पादन तथा व्यवसायिक सामानहरुलाई व्यापाक प्रचारप्रसार गरी सैनामैना नगरपालिकालाई व्यापार ग्राम “द बिजनेस भिलेजको रुपमा ”विकाश गरिने लक्ष्यले मेलाको आयोजना गरिएको सैनामैना व्यापार संघका अध्यक्ष एवं मेलाका संयोजक जिवनाथ पाण्डेले बताउनुभयो ।

११ दिन सम्म चल्ने मेलाको १० करोड बराबरको आर्थिक कारोबार तथा डेढ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । मेलाको मुख्य आर्कषणको रुपमा वडा स्तरीय दोहोरी गित प्रतियोगिता, सेल्फी जोन प्रतियोगिता र बम्पर उपहारलाई लिइएको संस्थाका महासचिव देवराज पौडेलले जानकारी दिनुभएको छ । व्यापार मेलामा २ सय १६ स्टलहरु रहेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७५ शुक्रबार ००:००  १ : १९ बजे