२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नवलपरासीका मल्लाहको गोली हानेर हत्या भएको पुष्टि



नवलपरासी ।

पश्चिम नवलपरासीमा गणेश मल्लाह (सहानी) को हत्या गोली हानेर भएको पुष्टि भएको छ । मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट नभई टाउकोमा गोली लागी भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो । टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएकोमा त्यसको विपरित गोली लागेर मल्लाहको मृत्यु भएको खुल्न आएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

सटगनको प्रयोग गरी मल्लाहको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको र त्यसैबाट उनको मुत्यु भएको खुल्न आएको उहाँले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा यसअगावै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिसकिएको पनि प्रहरी उपरीक्षक भट्टले बताउनुभयो । (रासस)

प्रकाशित मिति : १० कार्तिक २०७५ शनिबार ००:००  २ : २५ बजे