२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो, तीनको अवस्था गम्भिर, दर्जनौ घाइते



दिपक अनुरागी, कपिलवस्तु ।

कपिलवस्तुमा सोमबार दिउँसो यात्रुबाहक बस र टिप्पर एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ मा भएको दुर्घटनामा बसमा सवार तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङ गढवा गाउँपालिका वडा नं. ४ की पूजा नेपाली, सोही वडाका चार बर्षिय शुसान्त सुनार र गढवा १ का बल्लु थारु कुमाल रहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

बसमा २८ जना र टिप्परमा तीन जना सवार थिए । मृत्यु हुनेहरुमा बसमा सवार यात्रु हुन । घाइते सबैको कपिलवस्तु र रुपन्देहीका विभिन्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक मनोहरराज श्रेष्ठले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको उनले बताए । गम्भिर घाइते हुनेहरुमा दाङ देउखुरीका चिरनलाल श्रेष्ठ, दाङका विष्णु खनाल र दाङ गढवाका मनिराम चौधरी रहेका छन । उनीहरुको बुटबलमा उपचार भैरहेको उनले बताए ।

दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नंम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन । दुवै सवारी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटना भएको स्थल जंगल क्षेत्र हो । जंगल क्षेत्र हुदा दुवै सवारी तीव्र गतिमा रहेको र घुम्तिमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस र टिप्पर चालक सकुशल छन । उनीहरुको सामान्य उपचार पछि इलाका प्रहरी कार्यालय गोरुसिंगेमा राखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । घटना दिउँसो साढे दुई बजेको बीचमा भएको थियो । दुर्घटना पछि सोमबार सडक झण्डै दुई घण्टा अवरुद्ध भएको थियो ।

चारनम्बरका विभिन्न अस्पतालमा दर्जनको उपचार जारी

एक दर्जन घाइतेको कपिलवस्तुका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । मायादेवी अनलाइनलाई प्राप्त समाचार अनुसार चारनम्बरमा सि एण्डी अस्पतालमा ६ जना, युनाइटेड अस्पतालमा ५ र कपिलवस्तु सामुदायिक अस्पतालमा केहीको उपचार भैरहेको छ । सामान्य घाइतेहरु उपचार पछि घर फर्किसके पनि अधिकांश घाइतेको उपचार भैरहेको सम्बन्धित अस्पतालले जनाएका छन । यता सि एण्ड सी अस्पतालमा उपचार गराई रहेका विक्रम यादवको अवस्था गम्भिर भए पछि उनलाई साँझ मात्र बुटबलमा थप उपचारका लागि पठाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७५ सोमबार ००:००  २ : ०१ बजे