५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मधुवनधामको विकास ‘बृहत गुरुयोजना’ बनाएर गर्नुपर्नेमा जोड



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तुको मधुवनधाममा प्रदेश सरकारले आवश्यक लगानी गर्न तयार रहेको प्रदेश नं. ५ का बन, वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले बताउनुभएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको मधुवनधामको मंगलबार अवलोकन पश्चात भएको कार्यक्रममा बोल्दै मन्त्री गिरीले धामको विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

धामको विकास अन्धाधुन्ध गर्न नहुने भन्दै पहिला गुरु योजना बनाएर अगाडी बढ्नुपर्नेमा उहाले जोड दिनुभयो । सयौ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक बन क्षेत्र भएको मधुवनधामलाई गौशालाको रुपमा विकास गर्नुपर्ने उहाले बताउनुभयो । अहिले चारैतिर गाईबस्तुलाई छाडा छाड्ने गरिएको भन्दै उहाले गाईको व्यवस्थापनका लागि मधुवनधाम उपयुक्त हुने बताउनुभयो । त्यसको लागि प्रदेश सरकारले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

कपिलवस्तु र रुपन्देहीमा छाडा छाडिएका गाईबस्तुको गौशाला निर्माण गर्न सकिने भन्दै यस विषयमा स्थानीय स्तरमा छलफल गरेर प्रदेश सरकार समक्ष आउन उहाले आग्रह गर्नुभयो ।

गौशालाको निर्माण पछि मधुवनधामको धार्मिक पर्यटनमा टेवा पुग्ने उहाको विश्वास छ । हिन्दुधर्मालम्वीहरुले गाईको पूजा गर्ने हुदा मधुवनधाममा पालिएका गाई हेर्न हजारौ पर्यटक भित्त्राउन सकिने उहाले बताउनुभयो । त्यसको लागि बृहत गुरुयोजना बनाएर अगाडी बढ्नुपर्नेमा उहाले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले मधुवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आफुले पहल गरिरहेको बताउनुभयो । मधुवनधाम ऐतिहासिक भूमि भएको भन्दै प्रदेश सरकारले यसको विकास निर्माणमा सक्दो सहयोग गर्ने बताउनुभयो ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले गाईबस्तुको नियन्त्रण गर्न चुनौती थपिएको भन्दै त्यसको लागि उपयुक्त ठाउँ मधुवनधाम भएको बताउनुभयो । त्यसको लागि बृहत गुरुयोजना बनाउन जरुरी हुने उहाले बताउनुभयो । जिल्लाका स्थानीय तहले त्यसको लागि सहकार्य गरेर अगाडि जानुपर्नेमा उहाले जोड दिनुभयो । मधुवानधामलाई गौशालाको रुपमा विकास गर्न सकिने उहाले बताउनुभयो ।

मधुवनधाम वाणगंगाको ऐतिहासिक धार्मिक क्षेत्र रहेको भन्दै यसको विकासमा सबैले सहकार्य गरेर अगाडि बढ्नुपर्ने वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले बताउनुभयो । कार्यक्रममा मधुवनधामलाई कसरी विकास गर्ने भन्ने बारेमा नेकपाका नेता कृष्ण पौडेल, पूर्व स्थानीय विकास अधिकारी चिरिञ्जिवी भण्डारी लगायत विभिन्न व्यक्तिले आफ्नो योजना सुनाउनुभएको थियो ।

कार्यक्रमको शुरुवातमा मधुवन धामको ऐतिहासिकता, पौराणिकता बारे बरिष्ठ साहित्यकार तथा संस्कृतीका जानकार ऋषिकेशव भारद्धाजले जानकारी दिनुभएको थियो ।

मन्त्री गिरी लगायतको टोलीले मधुवनधाममा अवस्थित श्रीङ्घाट बाँध, बालाकुण्ड धामको अवलोकन गर्नुभएको थियो । बालकुण्डधाम श्रीङ्गी ऋषिले तपोभूमी गरेको स्थलमा रुपमा प्रख्यात छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५ बुधबार ००:००  २ : २९ बजे