५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

लुम्बिनी उत्कृष्ट पर्यटकीय गन्तव्य



बुटबल ।

सन् २०२५ सम्म बुद्ध जन्मस्थल लुम्बिनी मुलुककै उ्रत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने एक अध्ययनले देखाएको छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि विदेशी पर्यटकहरुको पहिलो गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हुने लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजना– २०७२ ले प्रक्षेपण गरेको छ । योजनाका अनुसार सन् २०२५ सम्ममा लुम्बिनी आउने विदेशी पर्यटकको सङ्ख्या १० लाख पुग्नेछ भने ३० लाख आन्तरिक पर्यटकले लुम्बिनी घुम्ने छन् ।

यसरी आउनेमध्ये विदेशी ६० प्रतिशत र नेपाली ४० प्रतिशत हुने योजनाले जनाएको छ । पर्यटन प्रवद्र्धन योजना निर्माण समितिका संयोजक पर्यटनविद् रामचन्द्र सेढाईंका अनुसार र्भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न भए सन् २०२५ सम्म लुम्बिनी घुम्ने विदेशी र भारतीय पर्यटक तथा स्वदेशी पर्यटकको संख्या ह्वात्तै बढ्ने छ । यसको लागि बुटवल र आसपासका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा नगरपालिकाहरुले तत्काल आवश्यक योजनाहरु निर्माण गर्न जरुरी रहेको सेढाइले बताउनुभयो ।

विशेष गरी यहाँ आध्यातात्मिक पर्यटकहरु धेरै आउने छन् । तिनीहरु कपिलवस्तु, देवदह र तिलौराकोट घुम्नेछन् भने अन्य बुटवल, भैरहवा, पाल्पालगायतका क्षेत्रमा रमाउने छन् । यसरी हेर्दा धार्मिक बाहेकका विदेशी चार लाख र स्वदेशी १२ लाख पर्यटकलाई लुम्बिनी भ्रमण गर्नेछन् ।

पर्यटन तथा संस्कृतिविद् गितु गिरीका अनुसार सन् २०२५ सम्मको लुम्बिनी क्षेत्र विस्तृत पर्यटन प्रवद्र्धन योजनालाई पछ्याउँदै आन्तरिक पर्यटन योजना निर्माण गर्नसक्ने हो भने बुटवलको पर्यटनले पनि फड्को मार्नेछ । तत्कालका लागि पर्यटकीय नगरीको रुपमा विकास गर्न नसकिए पनि बुटवललाई आगामी ५ वर्ष पर्यटन विश्रामस्थल र त्यसपछि आकर्षक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने यथेष्ट सम्भावनालाई विज्ञहरुले औँल्याउँदै आएका छन् ।

अनौपचारिक तथ्याङ्क अनुसार प्रतिदिन घुम्न मात्रै बुटवल आउने विदेशी पर्यटकको सङ्ख्या एकसय भन्दा बढी छैन तर, वार्षिक ४० हजार भन्दा बढी भारतीय पर्यटकले अहिले बुटवलको फूलबारी र सिद्धबाबा भ्रमण गर्न थालेका छन् । वार्षिक करीब आठ लाख आन्तरिक पर्यटकले फूलबारी घुम्ने गरेको मणिमुकुन्द सेन उद्यानका व्यवस्थापक विक्रम बस्यालले जानकारी दिनुभयो ।

त्यस्तै वार्षिक पाँच लाख भारतीय पर्यटक वेलहिया नाका हुँदै घुम्न नेपाल प्रवेश गर्छन् । यो तथ्याङ्क वार्षिक १० प्रतिशतका दरले बढिरहेको होटल एशोसिएशन पोखराले बताएको छ । भारतीय पर्यटकहरुको संख्या वृद्धि भएसंगै विदेशी पर्यटक पनि बुटवलसम्म आउने सम्भावना बढ्छ ।

पर्यटकको लागि सैनामैनाको बोलबमधाम, बुटवल र पाल्पाको सिमानामा रहेको सिद्धबाबा धाम, शंकरनगरको आनन्द विहार, नुवाकोटको भैरवनाथ मन्दिर, नयाँगाउँको मुक्तिनाथधाम लगायतका स्थानहरु ऋति महत्वूर्ण हुने छन् ।

बुद्धको मावली देवदह, मणिमुकुन्द सेनको दरबार, जितगढी किल्ला, नुवाकोटगढी किल्ला, नुवाकोटको भैरव मन्दिर, सैनामैनाका प्राचीन सम्पदाहरु, देवदहका पुरातात्विक सम्पदाहरु, पहाडी जिल्लाबाट ५० वर्ष अघिसम्म नून ढुवानी गर्ने गोरेटोे सडक, ढाक्रेहरुले भारी बिसाउने छहारी, चौपारी पर्यटन आकर्षण गर्ने सम्पदाहरुका रुपमा रहेका छन् ।

कृषिसम्बन्धी अध्ययन र अनुसन्धानका लागि पनि यहाँ पर्यटक आउने छन् । बुटवल र आसपासका क्षेत्रमा रहेका कृषि फार्म तथा कृषि क्षेत्रको अवलोकन भ्रमण गराउन र बुटवलमा बास बसाउन सकिन्छ । सूर्यपुराको ब्यावसायिक कृषि, छपियाको माछापालन, टिकुलीगढमा रहेको नमूना गाई फार्म, मधवलियास्थित अष्ट्रिच फार्म, मुर्गियास्थित बट्टाइ चरापालन फार्म, देवदहको सरनटाँडीस्थित अर्गानिक कृषि उत्पादन, दोभान र झुम्साका विभिन्न कृषि उत्पादनहरु देखाउन सकिने सम्भावना रहेको कृषि विज्ञहरुले औँल्याउने गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७५ मंगलबार ००:००  १ : १५ बजे