३० असार २०८२, सोमबार | Mon Jul 14 2025

कृष्णनगरका जमिरुल्लाह पशु सरह जीवन बिताउन बाध्य



कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटाका ३९ वर्षीय जमिरुल्लाह दर्जीलाई एक वर्षदेखि फलामे साङ्लोले बाँधेर आफ्नै घरमा बन्धक बनाइएको छ। जमिरुल्लाह पशुसरह जीवन बिताउन बाध्य छन्।

दिनभरि साङ्लोमा बाँधिएर उनी खुला आकाशमुनि उभिन्छन्, बस्छन्, खान दिए खान्छन् नत्र त्यसै बसिरहन्छन्। उनलाई उनकै परिवारले साङ्लोमा बाँधेर राखेको हो। २०५९ वैशाख ४ गते बुबा सुकुरुल्लाह दर्जीलाई अज्ञात समूहले हत्या गरेपछि बुबाको शव देखेपछि जमिरुल्लाहको मानसिक सन्तुलन बिग्रिएको हो। करिब १५ वर्षदेखि उनी यस्तो अवस्थामा छन्।

बुवाको निधनपश्चात ६५ वर्षीय आमा नुरैनाले उनलाई फलामे साङ्लोले घरको आगाडि बाँधेर राखेको दृष्य अत्यन्त दयनीय र पीडादायी छ। एउटा खुट्टामा फलामे सिक्रीले बाँधिएका जमिरुल्लाहलाई उनकी आमा र भाइ हविबुल्लाहले अहिले हेरचाह गरिरहेका छन्। ’आफूले सकिने हेरचाह गरेका छौँ, कहिलेकाहीँ त घरबाट समेत भाग्ने गरेकोले कठिनाइ भएको छ,’ भाइ हविबुल्लाहले बताए।

करिब एक लाख खर्च गरेर उपचार गराए पनि रोग निको नभएको र थप उपचारका लागि रकम नहुँदा समस्या भएको छ । दाजुको मानसिक सन्तुलन गुमेपछि उपचारका लागि विभिन्न अस्पाताल तथा धामीझाँक्रीलाई देखायौँ तर पनि सञ्चो नभएपछि फलामे सिक्रीले बाध्न बाध्य भएको भाइ हविबुल्लाहले बताए ।

प्रकाशित मिति : २ मंसिर २०७५ आइतबार ००:००  ८ : ५७ बजे