२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

चारनम्बर, सिद्धिपुर लगायतको स्थानमा विद्युत अवरुद्ध, सञ्चार माध्यमलाई बढी समस्या



मायादेवी अनलाइन, कपिलवस्तु ।

आइतबार देखि वाणगंगा नपा वडा नं. ४ का केही स्थानमा विद्युत अवरुद्ध भएको छ । तौलिहवा–चारनम्बर सडकखण्ड विस्तारको लागि विद्युत अवरुद्ध भएको हो । सडक फराकिलो पार्नु पर्ने भएको कारण सडक क्षेत्रभित्र रहेका विद्युतका पोल सार्नु परेकोले विद्युत अवरुद्ध भएको विद्युत प्राधिकरण गजेहडा वितरण शाखाले जनाएको छ । आइतबार विहान ८ बजे देखि अवरुद्ध भएको सोमबार साँझ सम्ममा आउने शाखाको दाबी छ । वाणगंगा नगरपालिका अन्तर्रगत वडा नं. ४ को चारनम्बर बजारको केही भाग, सिद्धिपुर, होराइजन चोक लगायतका स्थानमा विद्युत अवरुद्ध भएको हो ।

विद्युतका पोल सार्नु पर्दा विद्युत त अवरुद्ध भएको छ नै टेलिफोन, इन्टरनेट पनि अवरुद्ध भएको छ । विद्युत अवरुद्ध भएको कारण रेडियो मायादेवी, मायादेवी अनलाइन सञ्चालनमा पनि समस्या परेको छ । यस्तै वाणगंगा नगरपालिका लगायतका सरकारी कार्यालयमा इन्टरनेट नचल्दा कामकाजमा बाधा पुगेको छ । सरकारी कार्यालयमा इन्टरनेट नचल्दा सरर्भरमा समस्या आएको बताइएको छ ।

विद्युत आज साँझ सम्म आउने शाखाले जनाएको छ । अहिले विहानै देखि विद्युतका पोल सार्ने काम भैरहेको छ ।

यता दुई दिन सम्म विद्युत नचल्ने स्थिती आएपनि विद्युत वितरण शाखाले कुनै जानकारी नदिदा आक्रोस बढेको छ । विद्युत मर्मतको काम गर्दा पूर्व सुचना दिएर गर्नुपर्ने भएपनि प्राधिकरण शाखा गजेहडाले सुचना नै नदिई मर्मत गरेको छ । यता एकै दिनमा काम सकिने अनुमानले जानकारी नदिएको र आगामी दिनमा यस्तो गल्ति नहुने प्राधिकरणले जनाएको छ । अहिले तौलिहवा–चारनम्बर सडकखण्ड विस्तारको काम जारी छ । सडकखण्ड अन्तर्रगत चारनम्बर, गजेहडा, ओदारी लगायतका स्थानमा चार लेनको सडक बन्ने छ भने अन्य स्थानमा दुई लेनको सडक बन्दै छ ।

प्रकाशित मिति : १६ पुस २०७५ सोमबार ००:००  ४ : ३८ बजे