१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

डीएनएका लागि रगत संकलन गर्दा किन भयो निर्मलाकी आमा माथि हातपात ?



कञ्चनपुर ।
निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ ।
निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।
परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउनु भएको हो ।
निर्मलाकी आमाले डीएनएका लागि बुधबार रगत संकलन गरेको विषयलाई लिएर घरमा विवाद भएको छिमेकी मञ्जु भट्टले बताउनुभयो । उहाँले राहतको विषयमा पनि परिवारमा द्वन्द्व भएको बताउनुभयो ।
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिनुभएको थियो ।
डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताउनुभयो ।
रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताउनुभयो । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताउनुभयो ।
छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उहाँले बताउनुभयो ।
तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने असन्तुष्टि जनाउनुभएको छ । ‘छोरीले लामो समय बितिसक्दा पनि न्याय पाएकी छैन । अब आन्दोलन पनि सेलाउँदै गएको छ’, दुर्गादेवीले भन्नुभयो ‘त्यसैले मैले धर्ना बस्नुको कुनै अर्थ छैन । बरु राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ भन्ने सोचेँ । ’
आफूले राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथि नै छोरीको हत्या गरेको आरोप लगाएको पनि दुर्गादेवीले गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २६ पुस २०७५ बिहिबार ००:००  ९ : ०८ बजे