दाङ ।
सवारी दुर्घटनामा परेर निधन भएका पाँच नम्बर प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको शनिबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको सलामी सहित दाङको दंगिशरण ६ मा रहेको बागर खोलामा उहाँको छोराले दागबत्ती दिएर अन्त्येष्टि गरिएको हो ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा संघीय संसदका सभामुख कृष्णबहादुर महरा, मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभामुख पूर्णबहादुर घर्ती, प्रदेश मन्त्री, संघीय संसद, प्रदेश सभा सदस्य, नेकपाका नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता थियो । उहाँको अन्त्येष्टिमा हजारौं मानिसहरु उपस्थित भएका थिए ।
श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सदस्य उत्तरकुमार ओलीको निधनले प्रदेशलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले उत्तरकुमार ओलीले देखेका सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको समेत खेल्ने बताउनुभयो ।
यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले माननीय उत्तरकुमार ओली सडक सुरक्षा योजना लागू गर्ने पनि पोखरेलले बताउनुभयो । ’प्रदेश पाँचमा सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष कार्यक्रम ल्याउने छौँ’ उहाँले भन्नुभयो, ’माननीय उत्तरकुमार ओली सडक सुरक्षा योजना लागू गर्नेछौँ, उहाँ हामी माझ नभए पनि उहाँको सम्झना सधैं रहिरहने छ ।’
प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पनि उत्तरकुमार ओलीको निधनले प्रदेश सभालाई ठूलो क्षति पुगेको बताउनुभयो । माघ २४ गते भएको सवारी दुर्घटनामा परेर घाइते भएका ओलीको उपचारको क्रममा १६ दिनपछि मेडिसिटी अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो ।
यसैबिच दाङ क्षेत्र नं ३ (ख) बाट निर्वाचित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति नेकपा कपिलवस्तुले दुख ब्यक्त गरेको छ । नेकपा अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाहद्धारा जारी शनिबार शोक वक्तब्यमा मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तब्द परिवारजनमा समबेदना प्रकट गरिएको छ । नेकपाका होनाहार नेता समेत रहनुभएका वलीको निधनले पार्टीलाई ठूलो क्षति पुगेको विज्ञप्ति मार्फत जनाइएको छ ।






प्रतिक्रिया