४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कमलपोखरी उचित संरक्षणको पर्खाइमा



दाङ ।

कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ ।

पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुुपर्ने सुझाव दिएर फर्केने गरेका छन् । करीब एक बिघा क्षेत्रफलमा ताल रहे पनि अहिले त्यो साँधुरो हुनुका साथै धेरै भाग पुरिँदै गएको छ भने जलकुम्भी झारले समेत ढाकेको छ ।

करीब ९० वर्ष पहिले निर्माण गरिएको सो तालको संरक्षण स्थानीयवासीले गर्दै आए पनि बजेट अभावका कारण तालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेका छैनन् । पोखरीको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका समाजसेवी तथा रजौरा निवासी ७० वर्षीय गोविन्दप्रसाद रजौरेले तालको उचित संरक्षण गरी यसलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्ने बताउनुहुन्छ । “तुलसीपुर बजार क्षेत्रमा यस्तो ताल कहीँ छैन । यसलाई संरक्षण तथा पूर्वाधार निर्माण गर्ने सके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ”, उहाँ भन्नुहुन्छ, “यति पुरानो पोखरीको गाउँलेहरूले संरक्षण गरेर राखेका छाँै, तर सरकारी निकायबाट खासै पहल गरिएको छैन ।”

अर्का स्थानीय ४८ वर्षीय डिल्लीराज रजौरेले पोखरी संरक्षण गरेर त्यस क्षेत्रमा माछापालन, वनभोजस्थल, जलविहार तथा त्यहाँ जीवजन्तुको अवलोकन गर्न सकिने र यसबाट गाउँको मुहार नै फेर्न सकिने बताउनुभयो । कमलपोखरी टोल विकास संस्थाका अध्यक्ष दीपक न्यौपानेले कमलपोखरीको संरक्षणमा सबैले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले यहाँका नागरिकको अथक श्रमदानले नै पोखरीलाई जीवन्त राख्न सकेको बताउनुभयो । तालको संरक्षण गरी सुरक्षाका लागि तालको छेउछेउमा पर्खाल लगाउन सके, त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई पोखरी नजिकै बस्नका लागि सेट निर्माण गर्नसके, पुरिएको ताललाई उत्खनन गरी ढुङ्गाको व्यवस्था गर्नसके यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : २७ बजे