७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पर्यटकीय गन्तव्य बन्दै रानी झरना



पाल्पा ।
पाल्पा जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा पाएका हुन् । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो ।

करीब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर हरियाली जङ्गलको बीचमा भागमा रहेको झरना क्षेत्रमा पुग्दा शान्त र प्राकृतिक रूपमा आनन्द मिल्छ । चैत वैशाखको गर्मी महीनामा अझै झरना र पोखरीमा नुहाउनेको भीडभाड लाग्छ । प्राकृतिक रूपमा मनोरम रहेकाले आन्तरिक पर्यटक त्यहाँ पुग्न रुचाउन थालेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

आन्तरिक गन्तव्यका रूपमा रानी झरनाको सम्भावना देखिएपछि यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी थप चहलपहल ल्याउन आवश्यक देखिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको रानी झरनामा स्थानीय सरकारले भौतिक संरचना निर्माणमा चासो दिएको छ ।

वडाले पर्यटन पहुँचमार्ग, आकाशे पुल, वनभोजस्थल निर्माणलगायतका भौतिक संरचनाको विकास गरी पर्यटकीय गन्तव्य बनाउन थालेको वडाध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो । चालू आवमा काम हुने गरी वडाबाट रु दुई लाख बजेट विनियोजन गरी काम अघि बढेको छ । रानी झरनास्थलमा भौतिक संरचनाको विकास गरेपछि पर्यटीय चहलपहल हुने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थल हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०७५ बुधबार ००:००  ३ : ४० बजे