१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बुटवलको श्रम कार्यालय शुक्रबार सर्ने



रुपन्देही ।
श्रममन्त्रीको निर्देशनपछि बुटवलको चाँदबारीस्थित श्रम तथा रोजगार कार्यालय शुक्रबारदेखि बुटवलकै रामनगरमा सर्ने भएको छ ।
गएको फागुन २२ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले निरीक्षण गर्ने क्रममा साँघुरो ठाउँमा भएका कारण सेवाग्राहीलाई समस्या हुने भएकाले पाँच दिनभित्र कार्यालय सार्न निर्देशन दिनुभएको थियो ।
गएको पुस १५ गतेदेखि चाँदबारीमा सञ्चालनमा आएको श्रम तथा रोजगार कार्यालय साँघुरो ठाउँमा राखिएको कारण सेवाग्राहीले पटक पटक सेवा लिन असजिलो भएको गुनासो गर्दै आएका थिए । श्रम तथा रोजगार कार्यालय चाँदबारीबाट रामनगरमा रहेको व्यावसायिक तथा सीप विकास केन्द्रको भवनमा सर्न लागेको कार्यालयले बुधबार सूचना प्रकाशन गरी जानकारी गराएको छ ।
कार्यालय सर्ने क्रममा यही चैत १५ गते कार्यालयबाट हुने काम बन्द गरिने सूचनामार्फत जानकारी गराइएको छ । कार्यालयका शाखा अधिकृत बालकृष्ण थापाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार कार्यालय सार्न लागिएको र यही चैत १७ गतेदेखि रामनगरस्थित व्यावसायिक तथा सीप विकास केन्द्रको भवनबाट सेवा प्रदान गरिने जानकारी दिनुभयो । (रासस)

प्रकाशित मिति : १४ चैत्र २०७५ बिहिबार ००:००  १ : ५४ बजे