३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

जब जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नागरिकता बनाउन गए…..



गुलरिया । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा जबरजस्ती करणी मुद्दामा सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ निवासी २९ वर्षीय कृष्ण चमार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार चमार नयाँ नागरिकता लिन कार्यालयमा आएको समयमा गोप्य सूचनाका आधारमा प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

पक्राउ परेका चमारलाई जिल्ला प्रहरी कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरिएको छ ।

अदालतको आदेशअनुसार चमारलाई आजै बर्दिया कारागार चलान गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार जबरजस्ती करणी मुद्दामा बर्दिया जिल्ला अदालतले २०७२ फागुन १० गते चमारलाई १० वर्ष कैद सजाय र ५० हजार जरिवाना सुनाएको थियो ।

उक्त फैसलामा चित्त नबुझाउँदै चमारले उच्च अदालत तुलसीपुर, नेपालगञ्जमा पुनरावेदन दिनुभएको थियो । उच्च अदालत तुलसीपुरको इजलासले २०७३ फागुन ८ गते पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

तर, पीडित पक्षले भने उच्चको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएपछि विसं। २०७९ साउन २९ गते सर्वोच्चले जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो । त्यसयता चमार फरार थिए ।

प्रकाशित मिति : ३ आश्विन २०८३ शनिबार ००:००  ९ : १० बजे