४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

गौमुखीमा पर्यटक बढे



प्यूठान ।
गौमुखी मन्दिरको दर्शन गर्न आउने आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीयमा खुसी छाएको छ । गौमुखी गाउँपालिका–२, अर्खा ठूलाचौरसम्म सडक राम्रो भएसँगै झिमरुक नदीको उद्गम गौमुखी पुग्ने पर्यटक पनि आउन थालेका हुन् ।

गौमुखीलाई नुहाउने केन्द्रको गन्तव्य बनाउने अभियान सुरु गरिएको छ । केही वर्ष अघिदेखि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । गौमुखीसम्म पुग्ने पदमार्ग निर्माण भएको छ ।

उत्तरी प्यूठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखी गाउँपालिका–२, अर्खामा अवस्थित गौमुखीबाट निस्केको पानीले नुहाए मोक्ष प्राप्त भई र मनोकांक्षा प्राप्त हुने जनविश्वास छ । यहाँ प्यूठान, रोल्पा, गुल्मी, बाग्लुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन् ।

गौमुखीको थप प्रचारप्रसारका लागि नेपाल पत्रकार महासंघ प्यूठान शाखा र गौमुखी गाउँपालिकाले आउँदो वैशाख १ र २ गते प्रदेशस्तरीय मिडिया सम्मेलन गर्ने भएको छ । गर्मीको समयमा नुहाउने महत्त्वपूर्ण तीर्थस्थलका रूपमा विकास गर्न गौमुखीमा महासंघ जिल्ला शाखासँग समन्वय गरेर सम्मेलनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए । गौमुखीमा औंसी, पूर्णिमामा विभिन्न स्थानबाट तीर्थयात्री नुहाउन आउने गर्छन् भने हरेक वर्ष माघेसंक्रान्तिको अवसरमा नुहाउने मेला लाग्छ ।

यस वर्षको माघे संक्रान्ति मेलामा एकै दिन १० हजारजति तीर्थयात्री गौमुखीमा नुहाउन आएको अध्यक्ष गिरीले बताए । यहाँ प्राकृतिक गुफा छ । त्यसैको एक कुनाबाट गाईको मुखजस्तो आकृतिबाट छङछङती पानी निस्कन्छ । यसैलाई गौमुखी भनिएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७६ आइतबार ००:००  २ : ०३ बजे