८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

भारोत्तोलनमा ९ वटा राष्ट्रिय किर्तिमान कायम



बाँके ।
नेपालगञ्जमा जारी ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा ९ वटा राष्ट्रिय किर्तिमान कायम भएको छ । महिलाको ५५ किलो तौल समूहमा नेपाल प्रहरीका देवीमाया चौधरीले स्न्याचमा ६५, क्लिन एण्ड जर्कमा ८१ र टोटलमा १४६ किलो भार उठाउँदै स्वर्ण जितिन् ।
आर्मीका मनिषा रानाभाटले रजत र आर्मीकै गौरी चौधरीले काश्य पदक जिते । महिला ५९ किलो तौल समूहमा आर्मीका कमला श्रेष्ठले स्न्याचमा ७०, क्लिन एण्ड जर्कमा ८० र टोटलमा १५० किलो भार उठाउँदै स्वर्ण पदक जितिन् । प्रहरीका जुनुमाया छन्त्यालले रजत र प्रदेश ४ का टिकामाया गुरुङले काश्य पदक प्राप्त गरे ।
पुरुष ६७ किलो तौल समूहमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १०३ किलो, क्लिन एण्ड जर्कमा १२२ किलो र टोटलमा २२५ किलो भार उठाउँदै स्वर्ण पदक जिते । आर्मीका जीवन तामाङले रजत र प्रदेश ४ का धनबहादुर झाक्रीले काश्य पदक प्राप्त गरे ।
स्वर्ण पदक विजेता चौधरी, श्रेष्ठ र केसी तिनैजनाले स्न्याच, क्लिन एण्ड जर्क र टोटलमा नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । विगतमा ८ वटा तौल समूहमा प्रतिस्पर्धा हुने गरेको भारत्तोलनमा यस पटकदेखि १० वटा तौल समूहमा प्रतिष्पर्धा भइरहेको छ । १० वटा तौल समूह भएसँगै पुराना रेकर्ड पनि निष्कृय भएका कारण सबै स्वर्ण जित्ने खेलाडीले राष्ट्रिय किर्तिमान बनाएका हुन्।
भारत्तोलनका हालसम्म् घोषणा भएका ७ स्वर्ण मध्ये आर्मीले चार स्वर्ण जितेको छ भने प्रहरीले तीन स्वर्ण जितेको छ। विजेता खेलाडीलाई प्रदेश सांसद तथा ओलम्पियन सुरेन्द्र हमाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वली लगायतले मेडल तथा ट्रफी वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ५ : ११ बजे