२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ गौमुखी



सलिम अन्सारी, प्युठान ।
प्युठान जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हो गौमुखी । सरकारले प्रस्ताव गर्न लागेको ‘मदाने–पञ्चासे संरक्षण क्षेत्रअन्तर्गत गौमुखी पर्दछ झिमरुक नदीको उद्गमस्थल गौमुखीमा माघ १ मा नुहाउन ठूलो मेला लाग्ने गर्छ ।
गौमुखी क्षेत्र प्राकृतिक सौन्दर्यले धनी छ । करिब डेढ सय वर्षअघि बाग्लुङ, निसीका तगारा बुढामगर (निसेल) ले भैंसी चराउँदा गौमुखीको १२ मिटर लम्बाइ, ६ फिट चौडाइ र ७ मिटर उचाइ क्षेत्रफल रहेको गुफा भेटेका थिए । त्यसलाई उनले गाईको मुखजस्तो पत्थरको आकारबाट पानी आएको दृश्यको आधारमा गौमुखी नामाकरण गरेको भनिन्छ । त्यही गुफाबाट पानी निस्केपछि झिमरुक नदीका रूपमा प्रवाह सुरु हुन्छ । त्यसकै बाहिर सामान्य मन्दिर छ । मन्दिरमा सन्तानको प्रगति र ऐश्वर्य वृद्धि आदि मनोकामना पूरा गर्न दूधको धार, पशुपक्षीको दाम्लो चढाउने र परेवा उडाउने गरिन्छ ।
ओखरकोटको सूर्योदय, टापुबाट देखिने हिमशृंखलाको अवलोकन, मगर समुदायको सांस्कृतिक जीवनशैली र जीवन कलाले पाहुनाहरुलाई सजिलै आकर्षित गर्छन् । ओखरकोटको रक गार्डेन, ऐतिहासिक कोटघर, झिमरुक आसपासका साना खोचबेँसी, बाढीकोटको गढीकोट, पूजाको तामाखानी, लिवाङको स्नाथान, दियाल्नाचौर, तुसाराकोट, खुंका गुफाहरु रजवाराको मगर संस्कृति, बांगेमरोठको कौछेको राजनीतिक स्थानको महत्व उस्तै छ।

गौमुखी रुट

गौमुखी मगर समुदायहरुको थातथलो हो । स्थानीय कला संस्कृति र खानपानमा रमाउँदै अध्यन अवलोलन गर्ने रुचाउनेहरु यहाँ पुग्छन् ।
प्युठानको बाग्दुलाबाट ४० किमि, अर्घाखाँचीको सन्धिखर्कबाट ५२ किमि दुरीमा गौमुखी छ । गुल्मीको तम्घासबाट पनि यहाँ पुग्न सकिन्छ । अहिले अर्खा, अर्तुवाङबाट गाडीमा ठूलाचौर र पैदल हिँडेर गौमुखी पुग्न सकिन्छ । बाग्दुला–ठूलाबेंसी–भीमगिठे ७२ किमि त्रिदेशीय सडक निर्माण पूरा गरी यसलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । काठमाडौंबाट दाङको भालुवाङ हुँदै प्युठानको बाग्दुला ठूलाबेँसी पुगिन्छ । यहाँबाट करिब ४० किलोमिटर दुरीको गाडीको यात्रापछि अर्खाको ठूलाचौर पुग्न सकिन्छ । ठूलाचौरबाट झन्डै पौने एक घन्टा पैदल यात्रापछि गौमुखी मन्दिर ।
प्युठानको स्वर्गद्वारी दर्शन गरेर पनि गौमुखी पुग्न सकिन्छ । ढाँडबाट इस्नाथान, मुर्चुललेक र लाँलीगुरास रंगशाला हेरेर दहीहाल्नाबाट डाँडैडाँड हिमाल हेर्दै पूजा–डाडाँकटेरी हुँदै दलित होमस्टे बाग्लिबाङ पुगिन्छ । पूजा तामाखानी हुँदै रजबारा कालेपुनको घाँटी, झाँक्री ढुंगा तिखाचुली लेकको भेडीगोठसम्मको पदमार्गबाट गौमुखी पुग्न सकिन्छ । अर्खा ठूलाचौर मगर होमस्टेमा बास बसेपछि एक साताको प्याकेजमा यो पदमार्गमा यात्रा पूरा गर्न सकिने रतिमान राना बताउँछन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  ८ : २५ बजे