५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दूषित पानी पिए समस्या नै समस्या



काठमाडौं ।

विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले बजारमा सहजै उपलब्ध करिब ६० प्रतिशत ‘मिनरल वाटर’ दूषित भएको देखाएको थियो । नेपालमा पिउनका लागि विकल्पका रूपमा ट्यांकर र इनारको पानी प्रयोग गरिन्छ । यद्यपि, यस्तो पानी पिउनका लागि शतप्रतिशत शुद्ध हुँदैन ।

कस्तो पानीले कस्ता रोग ?

खोलाको पानी प्रशोधन नगरी सीधै प्रयोगमा समेत ल्याउने गरिएको छ । हामी जार र ट्यांकरको पानी भन्दै नउमालीकन खाने गर्छौं । यस्तो दूषित पानीले मानव स्वास्थ्यमा असर पुर्‍याइरहेको हुन्छ । झाडापखाला, जन्डिस, टाइफाइड, फुड पोइजनिङजस्ता समस्याको जोखिम बढाउँछ ।
जार तथा बोतलको पानीमा केमिकलमेत पाइने गरेको छ । यदि, पानीमा केमिकलको उच्च मात्रा भएमा दाँत बिग्रिनेसँगै पेटसम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना अत्यधिक हुन्छ ।
दूषित पानीमा पाइने इकोली नामक ब्याक्टेरिया स्वास्थ्यका दृष्टिकोणले निकै घातक मानिन्छ । त्यस्तै, प्यारासाइटजस्ता ब्याक्टेरियाले मौसमी रुघाखोकीजस्ता रोगको जोखिम उच्च गराउँछ ।
धेरै दिनसम्म जमेको पानीमा लामखुट्टे र विभिन्न ब्याक्टेरिया जन्मिने भएकाले इन्सेफ्लाइटिस, औलो र हैजाजस्ता महामारी फैलन सक्छ ।
तरकारी बाली तथा अन्य कृषि क्षेत्रमा प्रयोग गरिने फोहोर पानीले समेत स्वास्थ्यमा नकारात्मक असर पार्छ ।
कमजोर स्वास्थ्य भएका व्यक्तिमा दूषित हावा, पानी र प्रदूषण मिसिएमा रुघाखोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्या देखापर्छन् । यस्ता समस्या चिसो मौसममा बढी देखिने गरेका छन् ।
बच्ने उपाय

ट्यांकर, जार र बोतलको पानीसमेत शतप्रतिशत शुद्ध नहुने भएकाले उमालेर वा फिल्टर गरेर मात्र पिउने गर्नुपर्छ ।
लामो समयसम्म प्रयोगमा नल्याइएको इनारको पानी सीधै उपयोगमा ल्याउनुहुँदैन । इनारको पानी सकेसम्म छानेर मात्र प्रयोगमा ल्याउनुपर्छ ।
पिउने मात्र नभएर फलफूल, तरकारी आदि पखाल्ने पानी पनि शुद्ध हुन आवश्यक छ । डा. सचिन खड्का
इन्टर्नल मेडिसिन, काठमाडौं मोडल अस्पताल

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  १० : ४७ बजे