५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

छारेरोग कस्तो रोग हो ?



काठमाडौं ।

छारेरोगलाई सिजर, इपिलेप्सी, मिर्गीजस्ता विभिन्न नामले चिनिन्छ । मस्तिष्कमा अनियन्त्रित तवरले तरंगहरू प्रवाहित हुनुलाई छारे भनिन्छ । एकपटकभन्दा बढी यस्ता तरंग भयो भने यसैलाई छारेरोग भनिन्छ ।

रोगका कारण-

छारेरोगको प्रमुख कारण भनेकै मस्तिष्कको तरंग अनियन्त्रित हुनु वा आवश्यकताभन्दा बढी हुनु हो । ब्रेन ट्युमर, दिमागकोे क्षयरोग, मस्तिष्कमै जुकाको अन्डा हुनुजस्ता भयानक रोगका कारण छारेरोग लाग्ने गर्छ ।
यद्यपि, कतिपयमा भने यस्ता कारण नहुँदै पनि छारेरोग देखापर्छ । आफैँ पनि मस्तिष्कभित्र अनियन्त्रित तरंग प्रवाह हुन सक्छ ।
लक्षण-

छारेरोग पनि धेरै किसिमका हुन्छन् । पहिलो किसिमको छारेरोगमा मुख बंग्याउने, आँखा माथितिर बटार्ने, हात खुट्टा फाल्ने, छट्पटाउने र बेहोस हुने हुन्छ ।
त्यस्तै, दोस्रो किसिमको छारेरोगमा बेहोस नभए पनि केही क्षणका लागि चेतना हराउने, आफ्नो वरपरका वस्तुसँग अनभिज्ञ हुने, कुरा गर्दागर्दै एकोहोरो हुने, डराउने, अस्वाभाविक व्यवहार देखिने हुन्छ ।
त्यसैगरी, तेस्रो किसिमको छारेरोग, जुन बालबालिकामा प्रायः देखापर्छ । बालबालिका काम गर्दागर्दै एकोहोरो परेर हेरिरहने पुनः एकछिनका काम गर्नेजस्ता क्रियाकलाप देखाउँछन् । यसलाई चेतनाशून्य सिजर भनिन्छ ।
उपचार –

छारेरोगको उपचार र नियन्त्रणका धेरै उपाय छन् । छारेरोगको कारक तत्व ब्रेन ट्युमर तथा अन्य विभिन्न रोग हुन् । यी सबै रोगको उपचार सम्भव छ । त्यस्तै, छारेरोगलाई नियन्त्रण गर्ने औषधि पनि उपलब्ध छन् । त्यसैले, छारेरोगबाट हुन सक्ने खतराबाट जोगिन यसको समयमै उपचार गर्न जरुरी छ । चिकित्सकको सुझाब, सल्लाह र त्यसका लागि चाहिने जाँच आवश्यक हुन्छ ।
छारेरोगको शंका लागेमा विभिन्न किसिमका जाँच गर्नुपर्ने हुन्छ । तीमध्ये टाउकोको सिटी स्क्यान ९एमआरआई०, टाउकोमा तार लगाएर कम्प्युटरबाट तरंग जाँच्ने उपकरण ९इइजी० प्रमुख हुन् । त्यस्तै, रगतको जाँचबाट आउने जानकारी र रोगको आक्रमण तथा लक्षणको हिसाबले उपचारको बाटो छनोट गर्नुपर्छ ।
जान्नुपर्ने कुरा

छारेरोगले मानिसको जीवनलाई धेरै परिवर्तन गर्न सक्दैन । यसले दैनिक जीवनयापनमा साह्रै धेरै बाधा पु¥याउँदैन । छारेरोगी पनि सफल र अनुकरणीय व्यक्तित्व भएका उदाहरण धेरै छन् । प्रसिद्ध वैज्ञानिक न्युटन, विलक्षण प्रतिभाका प्रतिमूर्ति लिओनार्दो दा भिन्ची, नोबेल पुरस्कारका जनक एलफ्रेड नोबेलसमेत यो रोगका सिकार थिए । त्यसैले छारेरोग लाग्दैमा यसलाई जीवनको असफलता भनेर लिन मिल्दैन ।
छारेरोग सर्ने वा बढ्ने डर मानेर रोगीको साथ छोड्नुहुँदैन । छारेरोगीलाई नैतिक र शारीरिक सहयोगको आवश्यकता पर्छ । छारेरोगीले पनि आफ्नो रोग लुकाउनुहुँदैन । बरु, आफ्नो रोगबारेमा आफ्ना परिवारका सदस्य, साथीभाइ र आफन्तसँग खुलेर कुरा गर्नुको साथै चिकित्सकको सल्लाह लागि हिच्किचाउनुहुँदैन । डा.अविनाश चन्द्र, नसारोग विशेषज्ञ अन्नपूर्ण न्युरो अस्पताल

प्रकाशित मिति : ६ जेष्ठ २०७६ सोमबार ००:००  १० : ५० बजे