२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

यसकारण नलगाउने अग्लो हिल



काठमाडौं ।

हिजोआज अधिकांश सहरी महिला अग्ला हिल भएका जुत्ता–चप्पल लगाउन मन पराउँछन् । यस्ता जुत्ता–चप्पल लगाएर युवतीहरू आफूलाई फेसनेबल देखाउन चाहन्छन् । त्यसो त उचाइ कम भएका युवतीको रोजाइमा पनि अग्ला हिल भएका जुत्ता–चप्पल पर्ने गरेका छन् । फेसन र क्षणिक सन्तुष्टिका लागि प्रयोग गरिएका यस्ता जुत्ता–चप्पलले स्वास्थ्यमा समस्या निम्तिन सक्छ भन्नेमा सचेत हुन जरुरी छ । अब जानौँ, अग्ला हिल भएका जुत्ता–चप्पलले स्वास्थ्यमा पार्ने असरबारे

खुट्टामा समस्या

लामो समयसम्म वा नियमित अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टामा समस्या देखिन्छ । यसले खुट्टाको स्वरूप नै बिगार्ने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा त्यहाँको नसामा समस्या आउनेजस्ता समस्या देखिन्छन् । जसले गर्दा हिँड्न नै ग्राहो हुने र कालान्तरमा नसासम्बन्धी रोगको सम्भावना समेत बढेर जान्छ । त्यस्तै, पैतालाको मांसपेशी तन्किनेसमेत हुन्छ । जसले गर्दा पैताला दुख्ने समस्या सिर्जना हुन्छ । यसलाई मेडिकल भाषामा प्लान्टर फ्यासिआइटिस भनिन्छ । त्यस्तै, औँलाअगाडिको भाग दुख्ने गर्छ । जसलाई मेटाटार्सलगिया भनिन्छ । खुट्टाको अगाडिको नसा र कुर्कुच्चा सुन्निने समस्यासमेत हुन्छ ।

मेरुदण्डमा समस्या

सानै उमेरदेखि अग्लो हिल लगाउँदा युवावस्थापछि घुँडा र मेरुदण्डमा नकारात्मक असर पार्छ । यसका कारण घुँडामा अतिरिक्त दबाब पर्छ । जसले गर्दा अर्थाइटिस, ब्याक पेन, मांसपेशीमा दुखाइजस्ता समस्या देखिन्छन् । कतिपय महिलामा कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । त्यस्तै, कम्मरको नसामा समस्या देखिनुका साथै साइटिका नामक रोग लाग्ने सम्भावना रहन्छ ।

दुर्घटनाको डर

हामीले हिँड्ने सबै बाटा सीधा हुँदैनन् । अग्ला हिल लगाएर अफ्ठ्यारो बाटोमा हिँड्दा दुर्घटनाको डर हुन्छ । चिप्लो, ओरालो वा नमिलेको बाटोमा हिल सजिलैसँग अड्याउन गाह्रो  हुने भएकाले त्यस्ता ठाउँमा लड्न सक्ने जोखिम बढ्छ । साथै, हिल लगाउँदा शरीरको सन्तुलनसमेत नमिल्ने हुन्छ । यस्तो अवस्थामा लडेर ठूला चोटपटक लाग्ने तथा हात खुट्टा भाँचिने जोखिम हुन्छ ।

लामो समयसम्म वा नियमित अग्ला हिल भएका जुत्ता–चप्पल लगाउँदा खुट्टाको स्वरूप नै बिग्रिने, सुन्निने, लगातार खुट्टा दुख्ने तथा नसामा समस्या आउँछ

डा. सन्तोष पौडेल, नसा तथा हाडजोर्नीरोग विशेषज्ञ राष्ट्रिय ट्रमा सेन्टर नयापत्रिकाडेली

 

प्रकाशित मिति : १४ जेष्ठ २०७६ मंगलबार ००:००  ११ : १८ बजे