१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

नेपालमा बसेर कल बाइपास गर्ने भारतीय नागरिक पक्राउ



बुटवल ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी)मा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षी खुर्सेद अन्सारी छन् ।
विशेष सूचनाका आधारमा उनी बस्ने कोठामा छापा मार्न पुगेको सिआईबीको टोलीले अवैध कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण समेत बरामद गरेको छ ।
उनको कोठाबाट २ थान ल्यापटप, ३२ थान एरिएल, १ थान राउटर, २ थान डिभाइस, १ थान युपीएस, २ थान चार्जर तथा १३ ओटा सिम फिट गरिएको सिम पोर्ट १ थानलगायत सामग्री बदारम भएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालका विभिन्न १ सय ८ स्थानमा अवैध कल बाइपासमा संलग्न १३० नेपाली र ३७ जना विदेशीलाई गरी हालसम्म १ सय ६७ जनालाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका व्यक्तिविरुद्ध ११ अर्ब ९१ करोड १ लाख १६ हजार १ सय ६३ रुपैयाँ बराबरको बिगो दावीगर्दै अदालतमा मुद्दा दायर गरिएको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ४ : ५२ बजे