८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

प्रदेश ५ मा भेटिए १८५ औलो प्रभावित



रुपन्देही ।
प्रदेश ५ मा १८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ। कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व सात–सात र पाल्पामा दुई गरी १८५ औलो रोगी पाइएका हुन्। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगञ्जमा आयोजना गरेको औलो रोगसम्बन्धी अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईँद्वारा प्रस्तुत तथ्याङ्कमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ औलोको उच्च जोखिममा रहेको पाइएको छ। ‘आफैँबाट शुरु गरौँ, औलोलाई शून्यमा पुर्‍याऔँ’ भन्ने मूल नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो। सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ। औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए।

प्रकाशित मिति : १७ जेष्ठ २०७६ शुक्रबार ००:००  ५ : ०० बजे