४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिलिङखोलामा बन्ने भयो अर्को झोलुङ्गे पुल



गणेश बेल्बासे संगम, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नपा–९ स्थित तिनखन्डेको सिलिङखोलामा एक औपचारिक कार्यक्रमका बिच झोलुङ्गे पुलको शिलन्यास गरिएको छ । विभिन्न गाउँ बस्तीहरूलाई जोड्ने झोलुङ्गे पुलको शिलन्यास वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले गरेका हुन् । भौगोलिक रुपमा जिल्लाकै ठुलो तथा दुर्गम वडाका रुपमा परिचित वडा नं.९ तिनखन्डे स्थित सिलिङखोलामा पुल बन्ने भएपछि स्थानीयबासीहरूले खुसी व्यक्त गरेका छन् ।
विशेष गरी वर्षाको समयमा विद्यार्थीहरूलाई विद्यालयमा आवतजावत गर्न सजिलो हुने भएको छ । वर्षा मासमा खोला तर्न आवतजावत गर्न गाह्रो पर्ने उक्त क्षेत्रका बासिन्दा लाभान्वित हुने कात्तिके झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नाम बहादुर रेश्मीले बताए । विगतका समस्या अन्त्य हुने भएपछि गाउँले उत्साहित छन’ उनले भने ।
पुलको शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष भिम केसीले स्थानीय चुनावका क्रममा यस क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाए अनुसार आफु अगाडी बढेको बताएका छ्न् । आफुले बोलेको योजनाहरु मध्ये यो एउटा लक्ष्य पुरा गरेको केसीको दाबी छ ।
अध्यक्ष केसीले समुदायको सक्रियतामा समेत पुल निर्धा्रित समयमै सम्पन्न गर्न सहज हुने भएकाले जनशक्ती परिचालन सहित श्रमदान र व्यवस्थापनमा समेत सहयोग गर्न अनुरोध गरेका छन् । उक्त पुल करिब ४३ लाखको लागतमा निर्माण हुन लागेको हो । स्थानीयले आवश्यक जनश्रमदान सहित जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै पुलले गाउँबासीको बर्षौ पुरानो समस्यालाई समाधान गरेको बताएका छन् ।
शिलन्यास कार्यक्रममा वडाका जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानिय बुद्धिजीवीका साथै स्थानीयहरूको सहभागिता रहेको थियो ।
पुल निर्माण सम्पन्न भएपछि तिनखन्डेका बासिन्दालाई वर्षामासमा आवतजावत गर्न सजिलो हुने भएको छ । विशेष गरी उक्त पुलले वर्षामासमा नजिकको पशुपति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि सहज बनाएको छ । पुलको निर्माणसंगै तिनखन्डे टोलका साथै अन्य अरु टोलहरु पनि लाभान्वित हुने भएका हुन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०७६ आइतबार ००:००  ७ : २० बजे