मायादेवी अनलाइन, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं. ७ को लौटनराम द्रोपतीदेवी माविका किशोरीले सेनेटरी प्याड पाउने भएका छन् । गाउँपालिकामा सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले निशुल्क प्रदान गर्ने सेनेटरी प्याड एक कार्यक्रमकाबीच लैंगिक शिक्षिका प्रीती चौधरीलाई हस्तान्तरण गरिएको छ । शिक्षिका चौधरीले छात्राहरुलाई आवश्यकता अनुसार प्याड प्रदान गर्नुहुनेछ ।
किशोरीहरुलाई महिनावारी हुँदा विद्यालय आउन गाह्रो हुने भएकोले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सेनेटरी प्याड वितरण गरिएको विजयनगर गाउँपालिकाको कार्यालयले जनाएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यसले विद्यार्थीहरु नियमित विद्यालय आउनुको साथै शैक्षिक विकासमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाबाट प्रत्येक मा.वि. र नि.मा.वि.लाई नियमित सेनेटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भयो ।
मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम समितिका सिफारिस सदस्य सरिता अर्यालले महिनावारी भएको बेला किशोरीलाई नियमित विद्यालय जान प्रोत्साहन मिल्ने बताउनुभयो । अब रजस्वला भएको बेला पढाईलाई कुनै प्रभाव नपर्ने विश्वास अर्यालले व्यक्त गर्नु भयो । सेनेटरी प्याड लौटनराम द्रोपदी मा.वि.गणेशपुरबाट वितरण सुरु गरिएको जानकारी दिनु भयो ।
यस्तै वडा अध्यक्ष दिनेश कुमार चौधरीले गुणस्तरीय शिक्षाका लागि सिर्जनात्मक र अतिरिक्त कार्यक्रमका लागि आफु सक्दो सहयोग गर्ने बताउनु भएको छ । महिनावारी हुँदा धेरै किशोरीहरु लाज मान्ने पनि भएकाले बेलाबेलामा आवश्यक सल्लाह सुझाव समेत दिन अनुरोध गर्नु भएको छ ।







प्रतिक्रिया