१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

‘यसरी रोपियो बुद्धभूमिको टाँकुमा धान, गरियो किसानलाई सम्मान’



मायादेवी अनलाइन, बुद्धभूमि ।
आइतबार असार १५ । राष्ट्रिय धान दिवसको असर पारेर देशैभर विभिन्न कार्यक्रम भएका छन् । सधै सभा, सम्मेलन, सेमिनारमा हुने कार्यक्रमहरु आइतबार खेतको हिलोमा भए । बर्षौभरी हिलोमा नटेक्नेहरु पनि आइतबार हिलोमा टेके । सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया आएका छन् ।
यद्यपि किसानहरुको बाहुल्यता रहेको कपिलवस्तुमा पनि राष्ट्रिय धान दिवस भव्यताका साथ मनाइएको छ । प्रदेश ५ कै सबैभन्दा बढी धान खेती गरिने कपिलवस्तुमा पनि धान दिनवस मनाइएको हो । दिवसको अवसरमा बुद्धभूमि नगरपालिकाले पनि वडा नं. ३ को टाँकुमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।
नगरपालिकाको कृषि शाखाद्धारा आयोजित धान रोपाई कार्यक्रममा नगर प्रमुख केशव कुमार श्रेष्ठ, वडा नं. ३ का वडाध्यक्ष गोविन्द आचार्य लगायतका व्यक्तिले सहभागीता जनाउनुभएको छ । कृषिको उर्वराभूमिको रुपमा बुद्धभूमि नगरपालिकामा भएको धान रोपाई महोत्सव निकै रमाइलो भएको थियो ।
विगतका बर्षहरुमा असारु १५ मा टन्टलापुर घाम लाग्ने गरेपनि यस बर्ष कपिलवस्तुमा विहानपख पानी पर्यो । यतिमात्र होइन् दिनभरी शितल थियो मौसम । नगरको टाँकुमा झण्डै दुई कठ्ठा जग्गामा धान रोपिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सिंचाइ सुविधाको राम्रो पहुँच भएको ठाउँमा रोपिएको धान औपचारिकताका लागि मात्र नभई नगरकै यस बर्षको पहिलो धान रोपाई पनि भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगरपालिकामा यस बर्ष असार १५ सम्म कसैले धान नरोपेको र असार १५ देखि औपचारिक रुपमा धान रोप्न थालिएको उहाँले बताउनुभयो ।
किसान भए सम्मानित
दिवसको अवसरमा नगरपालिकाले ४ उत्कृष्ट किसानलाई सम्मान गरेको छ । नगरभित्र रहेर व्यवसायिक रुपमा कृषि पेशा अंगालेका किसानलाई आइतबार सम्मान गरिएको छ । मौरीपालन, तरकारी खेती र च्याउखेती गर्ने किसानलाई पाँच पाँच हजारले सम्मान गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यता पशु शाखाले ५ जना उत्कृष्ट पशुपालक किसानलाई सम्मान गरेको बताइएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  १० : ०७ बजे