१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

किन पाक्छ कान ? यसरी बच्नुहोस्



काठमाडौं ।

कानमा समस्या भई त्यहाँबाट कुनै पनि तरल पदार्थ बग्नुलाई कान पाक्नु भनिन्छ । जसलाई मेडिकल भाषामा ओटाइटिस मिडिया भनिन्छ । सामान्यतया बनावटका आधारमा बाहिरी, मध्य र भित्री गरी कानलाई तीन भागमा विभाजन गरिएको हुन्छ । जसमध्ये कानको मध्य भागमा विभिन्न कारण संक्रमण हुँदा पिप जम्छ । जमेको पिपले कानको जाली प्वाल पारेर बाहिर निस्कनुलाई कान पाकेको भनिन्छ ।

किसिम
कान पाक्ने समस्या दुई किसिमले हुने गर्छ, एक्युट ओटाइटिस मिडिया र क्रोनिक ओटाइटिस मिडिया । एक्युट एकदमै थोरै समयसम्म रहन्छ । क्रोनिक हुँदा लामो समयसम्म कानमा संक्रमण हुने गर्छ । जसले गर्दा करिब तीन महिनासम्म कानबाट पिप बग्ने, दुख्ने जस्ता समस्या देखिन्छन् । कानको जाली फुटेर पिप बग्ने म्युच्युअल र कान पाकेर हड्डीमा संक्रमण हुने स्क्वायर । दोस्रो निकै जटिल खालको हुन्छ ।

बालबालिका बढी प्रभावित
कान पाक्ने समस्या सबैभन्दा बढी देखिने कानसम्बन्धी समस्या हो । यो जुनसुकै उमेर समूहका मानिसमा हुन सक्छ । तर, यसबाट बालबालिका बढी प्रभावित हुने गर्छन् । बच्चाको घाँटीमा समस्या देखिनेबित्तिकै कानमा पनि समस्या हुने सम्भावना रहन्छ । घाँटी र कान जोड्ने नसा एउटै हुन्छ, उमेर बढ्दै जाँदा टेढो हुने भएकाले टाढिँदै जान्छ । त्यस्तै, प्रतिरोधी क्षमता कम हुने भएकाले समेत बच्चामा कान पाक्ने समस्या बढी देखिन्छ ।

लक्षण
कान पाक्दा बच्चाहरूमा कान दुख्ने, ज्वरो आउने र रुघाखोकी लाग्नेजस्ता लक्षण देखिन्छन् । त्यस्तै क्रोनिक ओटाइटिस मिडिया भएमा कानबाट पिप बगिरहने भएकाले भित्री भागमा पनि संक्रमण हुने डर हुन्छ । बिस्तारै कान कम सुन्ने वा सुन्दै नसुन्ने पनि हुन सक्छ । कान पाकेको लामो समय भएमा शरीरका अन्य अंग पनि प्रभावित हुँदै जान्छन् ।

कान पाक्ने समस्याबाट बालबालिका बढी प्रभावित हुने गर्छन् । बच्चाको घाँटीमा समस्या देखिनेबित्तिकै कानमा पनि समस्या हुने सम्भावना रहन्छ ।

कारण

लामो समयसम्म रुघाखोकी लाग्दा बच्चाहरूमा कान पाक्ने समस्या हुन सक्छ । त्यस्तै, बच्चालाई सुतेर वा असजिलो गरी दूध खुवाउँदा कानमा परेमा कान पाक्छ ।
फोहर पानीमा खेल्दा वा नुहाउँदा कानमा पानी परेमा समेत कानमा समस्या हुन्छ । साथै, कानको जालीमा असर पर्ने गरी कान कोट्याउँदा, चोटपटक तथा झै–झगडाबाट कानको जालीमा असर परेमा संक्रमण हुने गर्छ
रोकथाम र उपचार

कान पाक्ने समस्याबाट बालबालिकालाई बचाउन अभिभावकले विशेष ध्यान दिनुपर्छ । दूध खुवाउँदा कानमा पर्न दिनुहुँदैन । कानमा तेल हाल्नुहँुदैन । फोहर पानीमा खेल्न दिनुहुँदैन ।
संक्रमण हुनबाट बचाउन नियमित भ्याक्सिन लगाउनुपर्छ । नुहाउँदा कानमा कपास राख्न सकिन्छ ।
बच्चालाई रुघाखोकी लाग्नबाट बचाउनुपर्छ । जथाभावी कान कोट्याउनुहुँदैन । संक्रमण भइहालेका पनि जथाभावी औषधिको प्रयोग नगरी सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।
एक्युट ओटाइटिस भएमा कानको हेरचाह गर्नुपर्छ । थोपा औषधि र एन्टिबायोटिकको प्रयोगबाट यो समस्या निको पार्न सकिन्छ । क्रोनिक ओटाइटिस अर्थात् लगातार पिप बग्ने समस्या भएमा आवश्यक चेकजाँच गराएर शल्यक्रिया गराउनुपर्ने हुन्छ । जटिल खालको क्रोनिक ओटाइटिस मिडियाको मिरिन्गोेप्लास्टी विधिद्वारा उपचार गरिन्छ । नाक–कान–घाँटीरोग विशेषज्ञ नेपालगन्ज मेडिकल कलेज एन्ड टिचिङ अस्पताल

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  १ : १८ बजे