५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एक वर्षमा १ हजार २९ गाडी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु



बुटवल ।
बुटवल–प्रदेश ५ मा एक वर्षमा १ हजार ४ सय ४० गाडी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका छन् । प्रदेश ५ का १२ जिल्लामा भएका दुर्घटनामा ९ सय ३३ जना गम्भीर घाइते भएका थिए ।

आर्थिक वर्ष २०७४र०७५ मा प्रदेश ५ मा १ हजार १ सय ८७ वटा गाडी दुर्घटनामा ५ सय २० जनाको मृत्यु भएकोमा गत आर्थिक वर्षमा १ हजार ४ सय ४० वटा गाडी दुर्घटना भएको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक राम प्रकाश शाहले बताए ।

दुर्घटनामा परी ४ सय ४२ जना पुरुष, १ सय १९ जना महिला, ३२ जना बालक र ३० जना बालिकाको ज्यान गएको हो । जस अनुसार रुपन्देही जिल्लामा सबैभन्दा बढी र रुकुम जिल्लामा सबैभन्दा कम गाडी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रहरीका अनुसार रुपन्देही जिल्लामा एक वर्षमा ३ सय ६८ वटा गाडी दुर्घटना भएको र १ सय ४३ जनाको ज्यान गएको छ । त्यस्तै पश्चिम नवलपरासीमा १ सय ५१ वटा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ भने कपिलवस्तुमा २ सय ४१ बटा दुर्घटनामा ८० जनाको ज्यान गएको छ ।

पाल्पामा ७५ वटा दुर्घटनामा ४० जनाको ज्यान गएको छ भने गुल्मीमा २९ दुर्घटनामा १९ जनाको ज्यान गएको छ । अर्घाखाँचीमा २१ दुर्घटनामा १६ जना र दाङमा २ सय ५० वटा दुर्घटनामा परी १ सय ४ जनाले ज्यान गुमाएका छन् ।

बाँकेमा १ सय ४२ वटा दुर्घटनामा ७१ जना र वर्दियामा ७६ वटा दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै प्युठानमा ३२ वटा दुर्घटनामा १४ जना, रोल्पामा २८ दुर्घटनामा १५ जना र पूर्वी रुकुममा ९ वटा सवारी दुर्घटनामा परी १५ जनाको ज्यान गएको प्रहरीको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार ६ सय ५५ मोटरसाइकल, १ सय ९० वटा जीप÷कार, १ सय ३० वटा बस, १ सय १८ वटा ट्रक ट्याङ्कर, १ सय १८ बटा ट्याक्टर, ५७ वटा टिप्पर, ५२ वटा टम्पो र १५ वटा माईक्रोबस दुर्घटनामा परेका छन् । प्रदेश ५ मा ६ लाख ५५ हजार ३ सय वटा गाडी सञ्चालनमा रहेका छन् ।

न्यूनीकरणका लागि चासो

प्रदेश ५ सरकारले दुर्घटना न्युनीकरणका लागि निगरानी बढाउने तयारी गरेको छ । आन्तारिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले बढ्दो गाडी दुर्घटना तथा अपराध न्युनीकरणका लागि प्रदेशका ४२ महत्वपूर्ण स्थानमा सिसिटीभि क्यामेरा जडानको थालनी गर्न लागिएको बताए ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख सुरेश विक्रम शाहले नेपालका सडक सवारी मार्ग भन्दा पनि मृत्यु मार्गका रुपमा स्थापित हुदै गएको प्रति चिन्ता व्यक्त गरे ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले पहाडी क्षेत्रमा बिना ईन्जिनियरिङ डोजर चलाएर सडक निर्माण गर्नु, सवारी साधनको वृद्धि र कच्ची सडकको दुरावस्थाका कारण दुर्घटना बढेको बताए ।

साढे १४ करोड राजस्व संकलन

ट्राफिक नियम उल्लंघन गर्ने गाडीचालकलाई गरेको कारबाहीबाट आर्थिक वर्ष २०७५र०७६ मा १४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रदेश ५ का १२ जिल्लाले २ लाख ४३ हजार ७ सय ५६ गाडीचालकलाई कारबाही गर्दा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जसमध्ये सबैभन्दा बढी रुपन्देहीले ४९ हजार ६ सय गाडीचालकलाई कारबाही गरी ३ करोड ५१ लाख २ हजार राजस्व संकलन भएको छ ।

त्यसपछि दाङले ३४ हजार ५ सय ९ गाडीचालकलाई कारबाही गरी २ करोड १३ लाख ५ हजार ५ सय राजस्व संकलन गरेको छ ।
ट्राफिकको प्रदेश कार्यालय आफैले १ करोड ५६ लाख ३३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो खबर सिपी खनालले देशसंचारको लागि लेख्नु भएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ४ : १५ बजे