३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

राजाले पानी खाने गरेको कुवा ओझेलमा



म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका – २ ज्यामरुककोटको भकुण्डेमा तत्कालीन ज्यामरुककोटे राजा भर्तिवम मल्लले पानी खाने राजकुवा संरक्षणको अभावमा अलपत्र परेको छ। तत्कालीन राजा भर्तिवमले आफू र आफ्ना राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६ औं शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहाँसिक सम्पदा भएता पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा अहिले सो सम्पदा अन्य सम्पदा झैं इतिहाँसकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको हो। वडा कार्यालयको तल्लोपट्टी बाटोको छेउमा नै रहेको सो कुवाको संरक्षणमा कसैले पनि चासो नदिँदा अहिले पुरिने अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन्। राजा भर्तिबम मल्लले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलगअलग कुवा वनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंवदन्ती रहेको छ। यो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भएता पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाहरुको भनाइ छ। भकुण्डेका ७४ वर्षीय डम्मरबहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहानहरु नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दाहरु पानी भर्नका लागि रातिदेखि नै लाइनमा बस्ने गर्दथे। ‘तामाका गाग्री लिएर टाढाटाढावाट पनि मानिसहरु पानी भर्न सोही कुवामा आउने गरेका मैले पनि थाहा पाएको हुँ’ कार्कीले भने, ‘त्यसअघि सोही कुवामा राजा भर्तिबम मल्लले नुहाइ त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंवदन्ती रहेको छ।’

प्रकाशित मिति : २५ श्रावण २०७६ शनिबार ००:००  २ : ५२ बजे