७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्योः प्रचण्ड


३२ श्रावण २०७६ शनिबार ००:००  

0
Shares

काठमाण्डौ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताउनुभयो ।
नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पनि स्पष्ट पार्नुभयो ।
कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उहाँले अहिले केही गर्न नसके इतिहाँसले धिक्कार्ने बताउनुभयो । अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताउनुभयो ।
अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजीपतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समाजवाद उन्मुख गराउने चुनौती रहेको पनि बताउनुभयो । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा सर्वसुलभ हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी चिकित्सकहरुले भने गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्रष्ट हुनु पर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६ शनिबार ००:००  १ : ०८ बजे