१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सिड्सको अर्धवार्षिक समिक्षा, १५ सय घरधुरीमा खुशी ल्याउने लक्ष्य



मायादेवी अनलाइन, वाणगंगा ।
दिगो तथा मर्यादित आर्थिक सशक्तिकरण कार्यक्रम (सिड्स) को अर्धबार्षिक समिक्षा बुधबार संस्थाको कार्यालयमा सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा ६ महिनाको अवधीमा संचालित कृयाकलाप, कार्यक्रमको उपलब्धी, चुनौती तथा सिकाईका विषयमा जानकारी गराइएको थियो । सिद्धार्थ सामाजिक विकास केन्द्र र स्ट्रोम फाउण्डेसनको साझेदारीमा संचालित सिड्स कार्यक्रम वाणगंगा नगरपालिकामा संचालित छ । नगरपालिकाको ३ वटा वडामा संचालित कार्यक्रमले शिक्षा, जिविकोपार्जन तथा संस्थागत विकासको क्षेत्रमा विभिन्न लक्षित समूह, टोल विकास संस्था, सहकारी, विद्यालय लगाएतका क्षेत्रमा भए गरेका कामको जानकारी कार्यक्रम संयोजक आरटि खानले दिनुभएको थियो । ५ वर्षको अवधीमा वाणगंगा नगरपालिकाको ३, १० र ११ वडाका १५ सय घरधुरीको परिवारमा प्रत्यक्ष खुशी, आत्मसम्मान तथा मर्यादित जीवनयापन बनाउने लक्ष्य कार्यक्रमको रहेको संयोजक खानले जानकारी दिनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले नगरपालिकाको समन्वयमा संस्थाले कार्यक्रम संचालन गरेर यहाँको गरिव विपन्न समुदायको क्षेत्रमा टेवा पुग्ने बताउनुभयो । उहाँले संस्थाले संचालन गरेका कार्यक्रमलाई दिगो बनाउन चुनौती देखिरहेका बेला कार्यक्रमकै नाम दिगो र मर्यादित आर्थिक सशक्तिकरण भएकाले आगामी दिनमा उपलब्धीमुलक हुने कुरामा आफु विश्वस्त भएको बताउनुभयो । शुरुका गतिविधीले आफु सन्तुष्ट भएको बताउदै उपप्रमुख अर्यालले नगरपालिकाको ३ वटा वडामा संचालित कार्यक्रमले लक्षित वर्गको आर्थिक सामाजिक जीवन स्तर सुधारमा बढि जोड दिन आग्रह गर्नुभएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले किशोर किशोरीको विकासमा कार्यक्रमले प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । उहाँले किशोर किशोरी, विद्यालय तथा शिक्षाको क्षेत्रमा संस्थासंग सहकार्य गर्न सकिने विभिन्न सवालहरु रहेको समेत जानकारी दिनुभयो ।
त्यस्तै वडा अध्यक्ष सोमनाथ अर्यालले नगरपालिकाले समेट्न नसकेको क्षेत्रमा कार्यक्रम संचालन गरेर वडालाई धेरै नै सहयोग पुगेको बताउनुभयो । अध्यक्ष अर्यालले वडामा सम्वाद केन्द्र मार्फत किशोर किशोरीको क्षमता विकास, टोल विकास संस्था, बालक्लव, लक्षित वर्गको उत्थानमा परियोजनाले साझेदारी गरेर वडाको विकासमा सहकार्य गरेकोले धन्यवाद समेत व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाले नगरपालिकाको समन्वयमा कार्यक्रम संचालन गरीरहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकासंग साझेदारी गरेर नगरका अन्य वडामा समेत नमुनाको रुपमा सम्वाद केन्द्र संचालन गर्न सकिने बताउनुभयो ।
संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता सम्पन्न कार्यक्रममा प्राविधिक सल्लाहकार प्रकाश घिमिरेले कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको थियो भने संचालन कार्यक्रम अधिकृत गिता अर्यालले गर्नुभएको थियो । किशोर किशोरीद्धारा सम्वाद केन्द्रका उपलब्धीलाई चित्रहरु मार्फत तयार गरी विभिन्न सूचना सामाग्रीको प्रदर्शनी समेत गरिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७६ आइतबार ००:००  १ : ४८ बजे