१२ चैत्र २०८१, बुधबार | Thu Mar 27 2025

सभामुख नै भन्छन्, प्रदेश राजधानीको विषय पेचीलो बन्यो



बुटवल ।

प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले प्रदेश राजधानीको विषय राजनीतिक विषय भएका कारण त्यसको टुङ्गो पनि राजनीतिक रुपमा लाग्ने बताएका छन् ।

राजधानीको विषय पेचीलो बनेको बताउदै उनले यसलाई प्राविधिक विषय जसरी समाधान गर्नु पर्छ भन्ने मनोविज्ञान बनाउन नहुने जिकिर गरे । शनिवार रोटरी क्लब अफ बुटवलको नियमित १२८१ औं बैठकमा मुख्य बक्ताका रुपमा बोल्दै सभामुख घर्तीले सो कुरा बताएका थिए ।

संघियताको कार्यान्वयन भनेको केन्द्रीकृत मानसिकताका अन्त्य र विकेन्द्रीत अधिकार र अवसरको सिर्जना भएको उल्लेख गर्दै सभामुख घर्तीले सिंहदरवारले हामीलाई दिन नसकेको अपनत्व फेरी हामीले तोक्ने राजधानीले दिन नसक्ने हो भने राजनीतिक परिवर्तनको कुनै औचित्य नहुने बिचार व्यक्त गरे ।

राजधानीका विषयमा बाहिर आउने गरेका कुरा र वहसप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राजधानी कहाँ बनाउने भनेर होइन कस्तो बनाउने भन्नेमा केन्द्रीत हुनु पर्ने सुझाव दिए । घर्तीले भने–‘राजधानी बनाउने भनेको नयाँ शहर बनाउने हो, क्षेत्रीय विचारको विकास गर्ने र जनतालाई भ्रममा पार्ने काम होइन । त्यसले राम्रो परिणाम ल्याउदैन ।’

उनले प्रदेशको नामाकरण र राजधानीको विषय टुङगो लगाउन सुझाव लिने र प्राविधिक पाटोको अध्ययन गर्ने काम सकिएको हुदा आगामी अधिवेशनबाट संबैधानिक प्रक्रिया अनुसार अगाडी बढ्ने जानकारी गराए । सभामुख घर्ती ले संघीयताप्रति पछिल्लो समयमा जनतामा निराशा बढेकोप्रति राजनीतिक नेतृत्व सचेत बन्नु पर्ने बताउदै राजनीतिक परिर्वतन सजिलो भएपनि सत्ता परिर्वतनसंगै पुरानो संस्कार र संस्कृति परिर्वतन गर्न गाह्रो हुने हुदा केही अन्यौलता देखिएको बताए ।

तीन तहवीच आपसी समझदारी र सहकार्यमा मात्र संघीयता कार्यान्वयन हुन्छ भन्दै सभामुख घर्तीले प्रदेश सरकार संघीयता कार्यान्वयन गर्ने मुख्य कडी भएको बतए । रोटरी जस्ता सामाजिक संघसंस्थाहरु सामाजिक संस्कार परिर्वतन गर्न र शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा उपश्स्थिती जनाउन उनले आग्रह गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  ७ : ५२ बजे