८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

कांग्रेस संसदीय दलका नेताले प्रदेश ५ को लोकसेवामा आफ्नै बुहारीको नाम सिफारिस गरेपछि…



बुटवल ।

प्रदेश ५ को लोकसेवा आयोगका पदाधिकारी सिफारिस गर्ने समितिकै सदस्यले आफ्नी बुहारी सिफारिस गरेपछि विवाद भएको छ ।

मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा रहेको सिफारिस समितिले सदस्य प्रदेश ५ प्रमुख प्रतिपक्षि दलका नेता बलदेव शर्मा पोखरेलकी बुहारी राहेल पोखरेललाई सदस्यका लागि सिफारिस गरेपछि विवाद भएको हो । राहेल कांग्रेस संसदीय दलका नेता पोखरलकी कान्छी बुहारी हुन् ।

लोकसेवा आयोगको सदस्य हुन आवश्यक योग्यता नपुगी सदस्य सिफारिस गरेको भन्दै बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

राहेलको योग्यताका प्रमाणपत्रहरुमा भिन्नता देखिएका छन् । उनले २०५८ सालमा एसएलसी गरेको प्रमाणपत्र रहे पनि २०५७ सालदेखि नै निम्न माध्यमिक तहको शिक्षिका रहेको कागजात पेश गरेकी छन् । निम्न माध्यमिक तहमा अध्यापनका लागि आवश्यक पर्ने योग्यता कक्षा १२ उनले २०६० सालमा पूरा गरेको उल्लेख गरेकी छन् ।

लोकसेवा आयोगको सदस्य हुनका लागि आवश्यक न्यूनतम योग्यता पूरा नगरेको व्यक्तिका कागजात सुक्ष्म ढंगले अध्ययन नगरी सिफारिस गरेपछि मुख्यमन्त्री अध्यक्ष रहेको सिफारिस समिति विवादमा तानिएको छ । अध्ययन बिना गरेको सिफारिसले मुख्यमन्त्री अध्यक्ष, सभामुख र प्रमुख प्रतिपक्षि दलको नेता सदस्य रहने सिफारिस समितिको क्षमतामै प्रश्न उठेको छ ।

सिफारिस समितिको सिफारिस अनुसार प्रदेश प्रमुख उमाकान्त झाले राहेललाई असोज ३० गते लोकसेवा आयोगको सदस्यमा नियुक्त गरेका छन् । उनको सपथ भने भएको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ७ : ०० बजे