१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

पनौती विश्व सम्पदा सूचिमा सूचिकृत हुने



काभ्रे ।
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचिमा सूचिकृत हुने भएको छ।
युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचिकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचिकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचिकृत हुन सक्ने बताएका थिए ।

यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचिकृत गर्न तयार भएको मनहर्टले बताएको नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । उनले भने, “हामी सूचिकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”
नगरले चालू आवमा विश्व सम्पदामा सूचिकृत गराउन रु एक करोड बजेट छुट्याएको छ ।

“पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ”, प्रमुख न्यौपानेले भने ।

सूचिकृतको यस प्रक्रियामा आफूद्वारा पुनर्निर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । “यहाँ विकासका नाममा नचाहिँदो होड र प्रतिस्पर्धा देखिएको छैन, जिर्णोद्धार र पुनर्निर्माण पनि सम्पदाको माया गरेरै अघि बढेको अवस्थामा छ”, फाउण्डेसनका संस्थापक सम्पदाविद् रवीन्द्र पुरीले भने, “पनौतीलाई जोगाउन र चिनाउन त्यति धेरै मिहिनेत गर्नुपर्दैन भन्ने लागेको छ ।”
१२ वर्षे कुम्भ मकर मेला ९आउँदो २०७८ साल० अगावै विश्व सम्पदामा सूचिकृत भइसक्ने नगरप्रमुख न्यौपानेले बताए । “हामी सूचिकृतको करिब अन्तिम चरणमा पुगेका छौँ, सकेसम्म छिट्टै सूचिकृत हुने नेपालस्थित युनेस्को निकायले आश्वासन दिएको छ”, भने । उनका अनुसार नपाले हाल सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे ९घरवास० सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचिकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो । रासस

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  १ : ४४ बजे