७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

मर्चवार क्षेत्रमा बालिकामाथि सामुहिक बलात्कार



भैरहवा ।
रुपन्देहीको मर्चवार क्षेत्रमा एक बालिकाको सामुहिक बलात्कार भएको घटना बाहिर आएको छ । मर्चवरको सम्मरीमाई गाउँपालिका-३ बाबुथुमुवाका तीन जना युवाहरुले सोही स्थानकी १६ वर्षीया पुष्पाको (परिवर्तित नाम) सामुहिक बलात्कार गरेको जाहेरी परेको छ । इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्र बहादुर घलेका अनुसार आरोपित तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘तीन जना युवाहरुले सामुहिक बलात्कार गरेको जबरजस्ती करण मुद्दामा जाहेरी आएको छ’ घलेले भने, ‘तीनै जनालाई पक्राउ पनि गरिसकेका छौँ ।’

बलात्कारको आरोपित सोही स्थानका तीनै जना २२ वर्षीय पंकज तिवारी, २३ वर्षीय वृजेश त्रिपाठी र १८ वर्षीय जयन्त कहारलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो । पीडितको बुवा विरामी भएर आमाले उपचारका लागि उनलाई लिएर भारत गएकी थिइन् । गाउँमा महायज्ञ चल्दैछ। त्यही मौका छोपेर युवाहरुले सामुहिक बलात्कार गरेको बताइएको छ ।

घटनास्थलसम्म बालिका आफै गएकी हुन् वा जबरजस्ती लगेर बलात्कार गरिएको विषय अनुसन्धानमा रहेको बताइएको बताए । पीडितको स्वास्थ्य परिक्षणको लागि उनलाई अस्पताल लगिएको प्रहरी निरीक्षक घलेले बताए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । -साभार अन्नपूर्ण पोस्ट्बाट

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ८ : ०१ बजे