२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

खुला मासु नै बढी बिक्रीमा



नेपालगञ्ज ।
नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ ।
आफ्नै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज-१० का हिरण्य शर्माले जानकारी दिए ।
चिकित्सकका अनुसार खुलारुपमा बध गरेको मासु स्वास्थ्यमा प्रतिकूल हुने गर्छ । डा खेमा भण्डारी भन्छिन्, “मासु केही घण्टा ‘फ्रिज’मा राखेर राम्ररी पकाएरमात्र खानुपर्छ अन्यथा यसबाट धेरै थरीका जटिल रोग लाग्ने सम्भावना हुने गर्दछ ।”
यहाँ परम्परागत रुपमा दैनिक बध गरिएका खसीका मासु धेरै बिक्री हुँदै आएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी प्रदेश सरकारले यहाँ सुधारिएको मासु पसल ‘मिट मार्ट’ स्थापनाका लागि सहयोग गरेको छ । यसरी स्थापना गरिएका मार्टमा आम उपभोक्ताको उपस्थिति निकै पातलो हुने गर्दछ ।
जयपृथ्वी सहकारी संस्थाले यहाँको कारकादोमा ‘नेपालगञ्ज मिट मार्ट’ र दीपेन्द्र श्रेष्ठको एकल स्वामित्वमा बिपी चोकमा ‘यम्मी मिट मार्ट’ स्थापना गरिएको छ । मिट मार्ट सञ्चालकले फोजन गरेको शुद्ध मासु बिक्री गर्ने गरेको दाबी गरेका छन् तर उपभोक्तामा स्वास्थ्य सचेतनाका कमीका कारण सोचेकोजस्तो बिक्री नभएको ती सञ्चालकले दुःखेसो पोखेका छन् ।
प्रदेश सरकारले मार्ट सञ्चालकलाई अनुदानसमेत दिएको छ । यम्मी फ्रोजन फुड्सलाई ५० लाख र नेपालगञ्ज मिट मार्टलाई रु ३२ लाख अनुदान दिइएको प्रदेश ५ सरकारका कृषिमन्त्री आरती पौडेलले जानकारी दिइन् ।
ती मार्ट सञ्चालकले कुखुरा, खसीको मासु बिक्री गर्ने गरेका छन् । स्वास्थ्यका लागि छाला, बोसो र रगत भएको रातो मासु खानु हुँदैन । यसलाई बुझेका व्यक्तिले फ्रोजन गरेको मासु किन्ने गरेका छन् । नबुझेकाले मात्र परम्परागत रुपमा बध गरिएका मासु खरिद गर्ने गरेको यम्मी फ्रोजन फुड्सका सञ्चालक श्रेष्ठले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  १ : ५० बजे