१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

श्रमिक महिला अहिले पनि जहाँको त्यहि छन, संघर्षको खाँचो छः नेतृ अधिकारी



मायादेवी अनलाइन, चारनम्बर ।
महिला नेतृ चेतना अधिकारीले श्रमिक महिलाको दैनिकी अहिले पनि कष्टकर रहेको बताउनुभएको छ । १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आइतबार रेडियो मायादेवीको स्टुडियोमा अन्तर्वार्ता दिदै महिला नेतृ अधिकारीले दैनिक श्रम गरेर जीवन निर्वाह गर्ने महिलाका दिनहरु अहिले पनि सुखद नरहेको बताउनुभयो । संविधानले ३३ प्रतिशत महिलाको हक सुनिश्चित गरेपनि श्रमिक महिलाको लागि त्यो प्रयाप्त नभएको उहाँले जिकिर गर्नुभयो ।

अहिले पनि श्रम गर्ने महिलाहरु निकै विभेदमा रहेको उल्लेख गर्दै राज्य त्यसका लागि जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । काम गरी खाने महिलाका लागि राज्यले विशेष प्रकारका योजना ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

समाजमा हुँदा खाने बर्ग र हुने खाने बर्गबीच ठूलो खाडल रहेको बताउँदै उहाँले बर्गीय विभेदको कारण पनि अधिकांश महिला पछाडि परेको उहाँले तर्क गर्नुभयो । बर्गीय अधिकारका लागि अझै पनि संघर्षको खाँचो रहेको उहाँले औल्याउनुभयो ।

श्रम नीति स्थानीय तहको मातहतमा नभएको सुन्नमा आएको भन्दै त्यो स्थानीय तहमै ल्याउनुपर्ने उहाँले बताउनुभयो । श्रमको सम्मान नगर्दासम्म समाजमा विभेद अन्त्य नहुने उहाँको भनाई छ । त्यसको लागि राज्यले विशेष कानुन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेतृ अधिकारीसंग गरिएको थप कुराकानी हेर्नुहोस

प्रकाशित मिति : २५ फाल्गुन २०७६ आइतबार ००:००  ९ : ०० बजे