९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

गुल्मीमा हत्या आरोपमा पाँच जना जेल चलान



गुल्मी ।
यातयात व्यावसायी ३२ वर्षीय मोहनप्रसाद चुँदालीको हत्यामा संलग्न भएको आरोपमा पाँच जना पुर्पक्षका लागि जेल चलान भएका छन्। गुल्मी दरबार गाउँपालिका ४ वीरवासका चुँदाली फागुन ९ गते मृत अवस्थामा फेला परेका थिए। परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।

हत्या आरोपमा गुल्मी दरबार गाउँपालिका ४ का ५० वर्षीय विष्णुप्रसाद कँडेल, ४८ वर्षीय इन्द्रबहादुर डम्बरपाल, ४२ वर्षीय ज्ञानुकुमारी डम्बरपाल, ३७ वर्षीय लक्ष्मण डम्बरपाल, ३५ वर्षीय कमला डम्बरपाल र २८ वर्षीय सागर सोमैलाई प्रहरीले अदालत पेस गरेको थियो। जिल्ला अदालत गुल्मीका श्रेस्तेदार कृष्णशरण लामिछानेले मंगलबार पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरेका हुन्।

गत फागुन ८ गते स्थानीय विष्णु कँडेलसँग होटलमा सँगै बसेका चुँदाली भोलिपल्ट मृत भेटिएका थिए। सोही आधारमा चुँदालीको परिवारले कँडेलविरुद्ध फागुन १० गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।

त्यसैका आधारमा प्रहरीले कँडेलसहित अन्य दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले घटनमा संलग्नको आरोपमा थप तीन जनालाई पनि पक्राउ गरेको थियो। प्रहरीले ती पाँचै जनालाई आवश्यक अनुसन्धान गरी जिल्ला अदालत गुल्मीमा पेस गरेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७६ बुधबार ००:००  २ : ३४ बजे