रेडियो   टिभी

हामी आफै कोरोनाको स्वागतमा आतुर त छैनौं ?


नारायण खनाल ।
छिमेकी राष्ट्र चीनबाट शुरू भएको (कोभिड १९) कोरोना भाइरसको संक्रमणले सारा विश्व डगमगाएको छ । चीन आफू साइजमा आएको बताइरहेको छ भने युरोप धरमराएको छ । अमेरिकी दाँतबाट पसिना निस्किएका छन् । छिमेकी देश भारत जसले हामीलाई तीनतिरबाट घेरेको छ, त्यहाँ पनि संक्रमण बढी रहेको छ । हामीले यसो भनिरहँदा नेपाल आफै संक्रमणमा छ । राज्यले स्वास्थ्य सतर्कता अपनाउन आव्हान गरिरहेको छ, देश नै लकडाउन भएको छ । तर हामी नागरिक सामान्यतः संक्रमणले धेरै बितण्डा नमच्चाउँदै सचेत रहनु पर्ने हो, त्यसो नभएको देख्दा लाग्छ । नागरिक हामी आफै त कोरोना स्वागतमा आतुर त छैनौं ? प्रश्न उठिरहेको छ ।
हाम्रोजस्तो विकासोन्मुख देश जहाँ पर्याप्त चेकजाँच र स्वास्थ्य उपचारका सामग्री नै छैनन्, त्यस्ता देशका नागरिक झन धेरै सचेत हुनुपर्नेमा, हामीलाई त कोरोना मजाक लागिरहेको छ, सतर्कताको कुरै नगरौं, हाम्रो अनुशासनहीनता र अल्पज्ञान मौलाएको छ गाउँ गाउँमा । संक्रमित देशबाट घर फर्कनेहरु पनि मजाकमा, हामी यहीँ बसेकाहरु पनि मजाकमा । संसार संक्रमणले त्राहीत्राही बनिसकेको छ, हाम्रो देश पनि यसबाट कसरी अछुतो रहोस्, संक्रमित नै छ तर यसरी देश लकडाउन भैसक्दा समेत हामी विषयको गाम्भिर्यता बुझिरहेका छैनौं ।
सुरक्षाका उपाय आफ्नो निम्ति अपनाउनु पर्ने हो । के हामी कसैका निम्ति बाँचिरहेका छौँ र ? यदि कसैलाई त्यस्तै लाग्छ भने पनि सहि, पहिले बाँचौँ र बचाऔँ, अरु त तपशीलका कुरा हुन ।
राज्य नागरिकलाई संक्रमणबाट जोगाउन सक्दो प्रयास गरिरहेको छ, सुरक्षा सतर्कताका समाचारले सञ्चारमाध्यम रंगिएका छन, घन्किएका छन्, सामाजिक सञ्जाल रंगिएका छन् । तर हेर्नुस् त हाम्रो अनुशासन, जहाँको तहिँ । हाम्रो नेपाली संस्कार न हो, वनचरी झैँ उड्ने, मनचरीले जे भन्छ, त्यही गर्ने ,छाडिएका साँढे जस्तै । कृपया, हामीले आफ्नो बारेमा त सोचौं । संक्रमित देशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा बसौं, आफैंले आफू रआफ्नो परिवारको निम्ति यति गर्न पनि सक्दैनौं भने देशले के आशा राख्छ हामीबाट । अहिले तपाईंहरु भेटघाटमा ब्यस्त, खानपिनमा ब्यस्त, मोजमस्तिमा ब्यस्त, जो कहिल्यै आफन्त भेट्न हिँड्नु हुँदैनथ्यो अहिले भेट्दै घर घर किन ? कि राज्यको आदेश अपहेलना गरे वीर सम्झने हाम्रो बानीले यस्तो बनायो । यसरी गाउँ चाहार्ने हाम्रो क्रियाकलापले यदि हामी संक्रमित भएका रहेछौं भने ? के हुन्छ ? कल्पना गर्नुस् त । इटालीमा दुखीरहेको घाउ हाम्रो आफ्नो देशमा बल्झिए के हो ला ? हामी रहौँला र ? अनि हाम्रा आफ्नै क्रियाकलाप यस्ता ?
यता स्थानीय निकायहरु बिस्तारामा जागेका त छन् तर हाइ काढिरहेका छन् । डाक्टरको इच्छा अनिच्छामा बदल्न उहाँहरूकै सुरक्षाका निम्ति अत्यावश्यक सुरक्षा सामग्री छैनन्, आफू नै सुरक्षित हुन नसके कसरी उपचार गर्ने ? समस्या छ । राज्य कमजोर छ, जतिसक्दो कोशिश गरिरहेको छ, हाम्रो साथ चाहिएको छ देशलाई, हामीले अरु केही गर्नु पर्दैन मात्रै अनुशासन पालना गरे पुग्छ,सचेतना फैलाए पुग्छ, धैर्यबान बनिदिए पुग्छ । शब्दमा सगरमाथा बनाएर संसार घुमाउने चाहिएका छैनन्, ब्यबहारमा हातेमालो गर्ने चाहिएका छन् राज्यलाई त्यसको निम्ति हामी तयार बन्नुपर्छ ।
अहिले गाउँ फर्किएका र हामी गाउँमा रहेका सबैको चर्तीकला हेर्दा लाग्छ, हामी अनुशासनहीन र अल्पज्ञानी छौँ । भगवान् पनि हाम्रा क्रियाकलाप देखेर दिक्क मान्दा हुन, हुस्सु बहादुर भनेर । साँच्चै संसार हल्लाइ रहेको कोरोनाबाट सबै नेपाली दाजुभाइफाई बचाउन हामी सतर्क बन्नै पर्छ, अनुशासनमा रहनै पर्छ । हाम्रा आफ्नै क्रियाकलापले कोरोना स्वागतमा हामी आफै आतुर रहेको प्रमाण बन्नुहुन्न । हामी सुध्रिनु पर्छ, समाजलाई धैर्य रहन सम्झाउनु पर्छ, नेपाली नागरिकको परिचय नै यही हो, धर्म नै यही हो, आफू बाँच्ने र अरुलाई पनि बचाउने, यसलाई हामीले मर्न दिनुहुन्न । अहिलेका हाम्रा क्रियाकलापले त भनिरहेको छ कतै, हामी आफै कोरोनाको स्वागतमा आतुर त छैनौं ?

प्रतिक्रिया दिनुहोस