२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कृष्णनगर क्षेत्रमा तबलीगी जमाती छन भन्ने खबर झुठो होः मुस्लिम अगुवा



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको जवाभारी र चन्द्रौटामा रहेको मस्जिद मदरसाहरुमा तब्लीगी जमातीका मान्छेहरु लुकेर बसेको भन्ने खबर विना आधारको झुठो रहेको मुस्लिम अगुवाहरुले दाबी गरेका छन् । भारतीय दैनिक पत्रिका राष्ट्रिय सहारा हिन्दीमा शनिवारका दिन प्रकाशित भएको खबर विना आधार र झूठो खबर प्रकाशित भएको मुस्लिम समुदायका अगुवाको दाबी छ ।

भारतीय पत्रिकामा समाचार आए पछि प्रदेश नं. ५ मदरसा बोर्ड र राष्ट्रिय मदरसा संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डाक्टर अब्दुल गनी अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, ईप्रका बहादुरगंजका प्रहरी नायब निरीक्षक अभय राउत, शिवराज नगरपलिका वडा नं ७ का वडाध्यक्ष अनुप कुमार चौधरी वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रतिनिधि लगायत पत्रकारको टोलीले मदरसामा स्थलगत अनुगमन गरेको थियो ।

जवाभारी र चन्द्रौटा क्षेत्रका मदरसा र मस्जिदमा अनुगमन गर्दा जमातसंग सम्बन्धित कुनै व्यक्ति नभेटिएको मुस्लिम अगुवाहरुले जनाएका छन् ।

मदरसा निरीक्षण गर्ने क्रममा प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले भारतीय मिडीयामा आएको न्यूजमा कुनै सत्यता भएको बताउनुभयो । प्रशासन लगायत सबैको सहयोगमा निरीक्षण गरिएको र लकडाउनको पालना मस्जिद र मदरसामा समेत भएको उहाँले जनाउनुभयो ।

कसैको पनि बदनाम गर्ने बेला यो बेला नभएको भन्दै उहाँले सबै धर्म, जातजाती मिलेर कोरोना विरुद्धको अभियाामा लड्नुपर्ने कुरामा जोड दिनुभयो ।

शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष अनुप कुमार चौधरीले अनुगमनका क्रममा जमातीहरु लुकेको खबर प्रति हाम्रो ध्यानाकर्षण भएको र संयुक्त रुपमा अनुगमन गर्दा मस्जिद र मदरसामा कोही पनि जमाती वा भारतीय मौलाना नभेटिएको बताउनु भयो ।

राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफीले भारतीय मिडियामा आएको समाचारले आफुहरुको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । झूठो खबर सूत्रको हवला दिदै न्यूज बनाउनु एकदमै गलत रहेको भन्दै वास्तविकता बुझेर मात्र न्यूज बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०७७ शनिबार ००:००  ९ : ०३ बजे