२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

प्यूठानः सीमामा २४ सै घण्टा स्वयमसेवी युवा



सलिम अन्सारी, प्यूठान ।
जिल्लाको सरुमारानी गाउँपालिका २ ददेरीका स्थानीय युवा आकाश भुसाल दाङ–प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाइन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना, सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन ।

स्वयंसेवीहरुले अनावश्यक रुपमा हिडँडुल गर्नेलाई रोक्दै क्वारेन्टाइनमा राख्छन । सम्बन्धित गाउँपालिकासंग समन्वय गरेर मात्र उनीहरुलाई जिल्ला भित्राईन्छ । अनि गाडीको व्यवस्था गरेर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउँछन।

यहाँ दर्जन बढी युवा खटिएका छन् । युवाहरु यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । उनीहरू आफ्ना काम छाडेर स्वतहस्फुर्त रुपमा सेवामा जुटेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सिमानाकामा खटिएको भुसालले बताए । ‘अप्ठायाराहरु त छन तै पनि स्वयंसेवा गर्दा खुसी छु, आनन्द लागेको छ, घरपरिवार र छिमेकी पनि खुसी छन् , उनले थपे ।’

चौबिसै घण्टा आफूहरू नाकामै खटिने गरेको उनले बताए । उनका अनुसार स्थानीय स्वयमसेवकले बन्दाबन्दीको अवधीभरी काम गर्ने छन् । तर, यसरी जोखिम मोलेर सेवामा खटिरहदा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव खट्किएको भुसालले गुनासो गरे । ’सेनिटाइजर, ग्लोब्स र मास्क बजारमा किन्न पाईदैन’ उनले भने’ ‘सरकारले दिएको छैन ।’

त्यस्तै ददेरीका स्थानीय सूर्य श्रेष्ठ (राजु) पनि दिनहुँ स्वंयसेवकको रुपमा खटिएकै छन । उनले पनि मान्छेहरु बगरको बाटो र लुकिछीपी ओहोरदोहोर रोक्न आफुहरु रातदिन खटिएको सुनाए ।
‘लकडाउन सुरु भएदेखी नै गाउँका युवाहरु आलोपालो गरेर बसेका छौं,’ राजुले भने, ‘बन्दाबन्दीमा पनि भारतसहित बिभिन्न ठाउँबाट प्यूठान आउने मानिसहरुको क्रम नरोकिएपछि जेठ १ गतेबाट यहा सतर्कता अपनाईएको हो ।’

स्वयमसेवकसँगै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिएका छन ।

सरुमारानी –२ का वडा अध्यक्ष बसन्त जिसीले जिल्ला विपद व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था गरेको बताए । जिसिका अनुसार पैदल र गाडीबाट आएकाहरुलाई उक्त व्यवस्था गरिएको हो ।

प्रहरी हवल्दार कृष्ण प्रसाद मरासिनीले भारतबाट आएकाहरुको सबै बिबरण लिएपछि उनीहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाह समेत दिएर पठाउने गरिएको बताए । मानिस जिल्ला आउने क्रम जारी छ । भारतबाट कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने धेरै छन ।

जेठ १६ गते शुक्रवारसम्म भारत सहित बिभिन्न स्थानबाट ५ हजार ५५ जना प्यूठान भित्रिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७ शनिबार ००:००  ५ : ३६ बजे