८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाणगंगाबाट अधिकारकर्मीको चेतावनीः ‘लक डाउन उल्लङ्घन गर्छौ, न्याय मर्न दिँदैनौँ’ (भिडियोसहित)



मायादेवी अनलाइन, चार नम्बर ।
मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा कपिलवस्तुले आइतबार बाणगंगामा प्रदर्शन गरेको छ । पछिल्लो समय देशका बिभिन्न स्थानमा मानव अधिकारका घटना घटिरहेकाले त्यसविरुद्ध सरकारको ध्यानाकर्षण गराउन विहान प्रदर्शन गरिएको हो ।

करिब १ घण्टा भएको प्रदर्शनमा बिभिन्न संस्थाका अधिकारकर्मीहरुले रुकुम पश्चिम र रुपन्देहीको देवदहमा भएको दलित हत्याका दोषीलाई शीघ्र कारबाहीदेखि गृहमन्त्री राम बहादुर थापा बादलको राजीनामा मागसम्मका कुरा उठाएका छन् ।

बिभिन्न प्लेकार्डसहित चार नम्बर चोकमा भेला भएका अधिकारकर्मीको शान्तिपूर्ण प्रदर्शनलाई सम्बोधन गर्दै संविधान सभा सदस्य विनोद पहाडीले रुकुम पश्चिममा भएको नवराज विक हत्या मुलुककै कहालीलाग्दो घटना भएको बताउनु भयो ।

प्रेम सम्बन्धपछि विवाह गर्न गएका नवराज र उनका साथीहरुको पार्शविक नरसंहारको जति निन्दा गरे पनि नहुने भन्दै घोर भत्र्सना गर्नुभयो । उनीहरुलाई कानुनी कठघरामा नल्याएसम्म आफूहरुको अभियान बन्द नहुने उहाँले चेतावनी दिनुभयो ।

उहाँले राज्यले नै दोषीलाई बचाउन खोजेको भन्दै यस्तो खेल बन्द गर्न चेतावनी दिनुभयो । संयुक्त राष्ट्रसंघको उच्च आयुक्तबाट नै पत्र काटी यी घटनामा ध्यानाकर्षण भएको अवस्थामा सरकारका केही मानिसहरु दोषीलाई बचाउन नाटक मंचनमा लाग्नुले सरकार अध्यारोमा रहेको पुष्टि भएको बताउनु भयो ।

कार्यक्रमका प्रमुख वक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले नवराज विक हत्याका दोषिलाई जेल कोचाएर मात्रै आफूहरु शान्त हुने बताउँदै अहिले देशभरका शाखाले यस्तो कार्यक्रम गरिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, “मानव अधिकार हनन् भयो, दोषीलाई कारबाही गर्, हत्याराको खोजि गर् भनेर हामीले सरकारको ध्यानाकर्षण गराउनु पर्ने ? यो कस्तो राज्य हो प्रश्न गर्नुभयो ?” उहाँले न्याय मर्न नदिन लक डाउन उल्लङ्घन गरेरै भए पनि सडकमा उत्रने चेतावनी दिँदै यस्ता आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

केन्द्रिय सदस्य कृष्ण पंगेनीले गृहमन्त्री राम बहादुर थापा बादलको राजीनामा माग गर्नुभएको छ । सिंगो विश्व समुदायलाई स्तब्ध गराउने खालको घटना हुँदा समेत सरकारले मुख टालेर बसेको र दोषी थाहा हुँदा हुँदै कुनै कारबाही प्रकृया चलाउन नसकेको भन्दै उहाँले थापाको राजीनामा माग गर्नुभयो । उहाँले बाहुनहरुले बाहुन हुँ भन्दै अहंकार पाल्न नहुने र दलितहरुले पनि हिनताबोध गर्न नहुने बताउनु भएको छ ।

शान्ति समाजका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, सचिव माधव भुसालको संचालनमा सम्पन्न कार्यक्रममा मानव अधिकार एलायन्सका केन्द्रिय उपाध्यष पोमनारायण पौडेल, अधिकारकर्मीहरु चन्द्रकान्त न्यौपाने, अर्जुन पोख्रेल, दिल बहादुर खाती, मिना परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा सबै बर्ग र समुदायका ५० बढी ब्यक्तिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७ आइतबार ००:००  ५ : २२ बजे